काठमाण्डौं: राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । 

आज (सोमबार) बिहान बसेको बोर्डको बैठकले एसईई र कक्षा १२ को परीक्षा रोक्ने निर्णय गरेको हो । अर्को सुचना नभएसम्मको लागि दुवै परीक्षा स्थगित भएको हो । एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन हुने तयारी थयो भने कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट गर्ने तय भएको थियो । 

कोभिड १९ को संक्रमण तीब्र दरमा बढ्दै गएपछि सरकारले परीक्षाहरु सञ्चालनमा यसअघि नै रोक लगाइसकेको थियो । त्यसयता पनि संक्रमण नियन्त्रणमा आउन नसके पछि बोर्डले दुवै परीक्षा रोक्ने निर्णय गरेको बोर्ड अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । 

एसईईमा ५ लाख १७ हजार विद्यार्थी सहभागी हुदैछन् । गतवर्ष पनि कोरोना महामारीको कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन । परीक्षार्थीहरुलाई विद्यालयले अन्तरिक मुल्यांकन गरेको आधरमा नतिजा प्रकाशित गरिएको थियो ।