धरान : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय विराटनगरले धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट बाहिर सञ्चालनमा रहेको मेडिकल पसलमा अनुगमन गरेको छ ।
उपभोक्ताहरुको उजुरीको आधारमा ३ वटा मेकिडल पसलमा अनुगमन गरेको हो । कार्यलय प्रमुख सन्तोष पोखरेलको नेतृत्वमा इलाका प्रशासन कार्यालय धरान, प्रहरीसहितको टोलीले सुनौलो फार्मेसी, टाटा नन्द फार्मेसी र गार्जियन फर्मा गरि ३ वटाको अनुगमन गरेको हो । कोभिड महामारीको बेला मास्क र सेनिटाइजर अत्यधिक बढी मुल्यमा बिक्री गरेर कालोबजारी गरेको उजुरीको आधारमा अनुगमन गरिएको पोख्रेलले जानकारी दिए ।
ती मध्ये सुनौलो र टाटा नन्द फार्मेसीले खरीद गरेको औषधीजन्य, सर्जिकल वस्तुहरुको खरीद विल राखेको नभेटिएको पोखरेलले जानकारी दिए । सुनौलो फार्मेसीलाई फोन मार्फत नै खरीद बिल पठाउन आग्रह गरेपनि हालसम्म नपठाएको र अनुगमनमा आउदा पनि खरीद बिल नदेखाए पछि असहयोग गरेको कारण उपभोक्ता संरक्षण ऐन २०७५ वमोजिम असहयोग गरेवापत २० हजार जरिवाना गरेको बताए ।
यस्तै, टाटा नन्द फार्मेसीले सर्जिकल मास्क, सेनिटाइजरको खरीद बिल नराखेको र बिक्री बिल पनि जारी नगरेको पाइए पछि २० हजार जरिवाना गरिएको बताए । उनका अनुसार गार्जियन फर्मामा भने अन्य मेडिकल भन्दा फरक प्रचलित कानुन अनुसार नै खरीद बिक्री भइरहेको पाइएको बताए । उक्त पसलमा खरीद गरेको मुल्यमा २० प्रतिशत र सालाखाला मुल्य मात्र कायम गरेको पाइएको उनले बताए ।
पोखरेलले कतिपय सामानको खरीद मुल्य थोरै भएपनि एमआरपि अर्थात उपभोक्तालाई बिक्री गर्ने मुल्य अत्यधिक धेरै राखेको पाइएकोले त्यस्ता उद्योगहरुलाई सचेत गराएर समायोजन गर्न लगाउने बताए । एमआरपि जति लेखिए पनि व्यापारीहरुले खरीद विलअनुसारको मुल्यमा २० प्रतिशतभन्दा बढी मुल्य लिएर बिक्री गर्न नमिल्ने पोखरेलले जानकारी दिए ।