इटहरी: कोरोना महामारी नियन्त्रण गर्न जारी भएको लकडाउनले किसानहरुको तरकारी बारीमा नै कुहिन थालेको छ ।

सार्वजनिक यातायात सञ्चालनमा रोक लागेपछि किसानहरुको कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन नसक्दा बारीमा नै कुहिन थालेको हो । उत्पादनमा क्षति पुगेपछि पीडित किसानहरुले सरकारले वैकल्पिक व्यवस्था वा राहत दिनुपर्ने बताइरहेका छन् । किसानहरुको तरकारी बारीमा कुहिन थालेपछि इटहरी उपमहानगरपालिकाले समस्या समाधान गर्न सहजीकरण गरेको छ । 

kishan1

उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरुसँग छलफल अघि बढाएकी हुन् । सब्जीका होलसेल ब्यापारीहरुले बारीमै गएर सब्जि उठाउने प्रतिवद्धता जनाएका छन् । क्विन्टल भन्दा माथि भए कृषकको बारीमै गएर उठाउने र त्यो भन्दा थोरै भए कृषकले पसलमा ल्याइदिनुपर्ने गरि समन्वय गरिएको उपप्रमुख गौतमले जानकारी दिइन् । 

लकडाउनले गर्दा बारीमा नै उत्पादन कुहिन थालेको गुनासो आएपछि उपप्रमुख गौतमले कृषकको बारीमै पुगेर अनुगमन गरेकी थिइन् । अनुगमनको क्रममा आफूले किसानहरु निक्कै पीडित भएको पाएकोले तरकारी बजारसम्म पुर्याउन समन्वय गरेको उपप्रमुख गौतमले वताइन् । भारतदेखि तरकारी आयात भइरहेको तर आफनै ठाँउमा उत्पादित तरकारी कुहिएर जाने स्थिति आएपछि थोक विक्रेताहरुसँग समन्वय गर्दा सकारात्मकरुपमा छलफल भएको उनले बताइन् ।