धरान: कोरोना संक्रमितको शव अन्त्येष्टी गर्न नदिएको बिषयमा आज धरान उपमहानगरपालिकामा सरोकारवाला पक्षहरुबीचमा सर्वपक्षीय छलफल हुने भएको छ ।
दुई जना संक्रमितको शव परम्पराअनुसार दाहसँस्कारस्थलमा जलाएर अन्त्येष्टी गर्न नदिए पछि सहजीकरण गर्न धरान उपमहानगरपालिकाले आज छलफल राखेको हो । छलफलमा बिशेष गरि खत्रीधारास्थित दाहसँस्कारस्थल नजिकका स्थानीयबासीका प्रतिनिधि, खत्रीबम धारा उपभोक्ता समितिका प्रतिनिधि, दाहसँस्कारस्थलका प्रतिनिधि र धरानका राजनीतिक दलका नेतृत्वहरुलाई पनि निमन्त्रणा गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
धरानमा गएको शनिबार र हिजो मंगलबार पनि वीपी प्रतिष्ठानमा मृत्यु भएका कोरोना संक्रमितको शवलाई दाहसँस्कारस्थलमा अन्त्येष्टी गर्न दिइएन । शनिबार धरान १६ का मृतकको शवलाई जंगलमा गाडेर अन्त्येष्टी गरिएको थियो भने हिजोको मृतकको शवलाई विराटनगरको सिंघिया घाटमा लगेर परिवारजनले अन्त्येष्टी गर्नुपरेको थियो । उनको शव इटहरी र चतारास्थित घाटमा समेत जलाउन त्यहाँका स्थानीयले नदिएपछि विराटनगर लैजानु परेको हो । मृतक संक्रमितको शवलाई आफ्नै ठाउँमा दाहसँस्कार गर्न नदिइनु अमानवीय कार्य भएको र स्थानीय सरकार रमिते बनेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि उपमहानगरपालिकाले आज छलफल राखेको हो ।