धरान: कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको परिवार पीडामा हुन्छन्, अझ आफ्नै ठाउँमा शवलाई अन्त्येष्टी गर्न नदिदाको पीडा कति होला ? मानिसबाट यस्तो अमानवीय व्यवहार पनि होला र ? भन्ने प्रश्न सबैको मनमा आउन सक्छ ।
यस्तै घटना धरानमै दोहोरिएको छ । संक्रमितको शवलाई जनस्वास्थ्य सुरक्षा प्रोटोकल अपनाएर सुरक्षित तरिकाले अत्येष्टी गर्नुपर्छ भन्ने माग जायज हो, तर शवलाई परम्परा अनुसार दाह सँस्कारस्थलमा जलाउनै नदिने अमानवीय घटना आज पनि धरानमा दोहोरिएको छ । तीन दिनअघि धरानको खत्रीधारास्थित दाह सँस्कारस्थलमा धरान १६ का एक संक्रमित पुरुषको शव अत्येष्टी गर्न लैजादा स्थानीयले संक्रमण फैलनसक्ने भन्दै व्यापक विरोधमा उत्रिए । त्यसपछि, उक्त शवलाई जंगलमा लगेर राती गाड्नु परेको थियो ।
आज पुनः राती १२ बजेर ४८ मिनेटमा धरान वडा नं ३ का ४३ बर्षीय संक्रमित पुरुषको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भयो । उनको शव पनि धरानको कुनै दाह सँस्कारस्थलमा जलााएर जातीय परम्परा अनुसार अत्येष्टी गर्न दिइएन । वडाका जनप्रतिनिधिहरुले समन्वय र पहल गरेपनि स्थानीयको विरोधको कारण धरानको दाहसँस्कारस्थलमा शव अन्त्येष्टी गर्न नपाएको वडा नं ३ का सदस्य विकास वनेपालीले जानकारी दिए । उनका अनुसार धरानमा मात्र नभै, उक्त शव इटहरी र चतराको घाटमा समेत पनि उक्त स्थानका स्थानीयले अन्त्येष्टी गर्न अनुमति दिएनन्।
'शवलाई कि सेनाले नै लगेर अत्येष्टी गर्ने प्रोटोकल बनाउनु पर्यो, होइन भने परिवारलाई जिम्मा लगाएपछि कहाँ अन्त्येष्टी गर्ने भनेर सरकारले राम्रो व्यवस्थापन गरिदिनुपर्यो,'वनेपालीले भने,'यसरी घण्टौंसम्म शव अन्त्येष्टी गर्न नपाई राख्नुपर्ने राम्रो होइन । सबैतिर भनियो, कतैबाट समस्या समाधान भएन । अस्पतालले फोन गरेको गरेर्कै गर्छ, कही कतै शव जलाउन दिदैन ।'
धरानमा खत्रीधारास्थित झिँगु समाजले रेखदेख गर्दै आएको एउटा दाहसँस्कारस्थल छ भने अर्को धरान ८ स्थित बाँैद्ध दाहसँस्कारस्थल रहेको छ । धरानका यी दुवै दाह सँस्कारस्थलमा संक्रमितको शव जलाउन नदिने भनेर स्थानीयबासीहरु विरोधमा छन् । जसले गर्दा ती संस्थाहरुले पनि संक्रमितको शव अत्येष्टी गर्न अनुमति दिन सकेका छैनन् । स्थानीय सरकारको नेतृत्व पनि संक्रमितको शव अत्येष्टीको वैकल्पिक व्यवस्थापन गर्न सकेको छैन ।
धरानमा शव अत्येष्टी गर्न नदिए पछि उक्त शवलाई विराटनगरस्थित सिंघिया खोलाको घाटमा अत्येष्टी गर्न परिवारजनले लगेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, 'धरानमा शव जलाउन नदिए पछि विराटनगरको सिंघिया घाटमा लगिएको छ।' झिगु समाजका अध्यक्ष सुरेन्द्र स्थापितले संस्थाले नभै संक्रमितको शवलाई दाहसँस्कारस्थल नजिकका स्थानीयबासीले जलाउन नदिने भनेर विरोध गरेकोले नदिइएको बताउँछन् ।
बौद्ध दाहसँस्कारस्थलका अध्यक्ष कर्ण तमुले पनि स्थानीयबासीले नै विरोध गरेपछि संस्थाले पनि संक्रमितको शव जलाउन अनुमति नदिने निर्णय गर्न बाध्य भएको बताए । उनले संस्थाको सदस्य पनि संक्रमित भएर मृत्यु भएमा ती सदस्यको शवलाई पनि जलाउन नदिने भनेर निर्णय गर्न बाध्य भएको सुनाए । संक्रमितको शव अत्येष्टी गर्न नदिएको बारेमा नगर प्रमुख तिलक राईले यसअघि नै सरोकारवाला दाहसँस्कारस्थल, वन समुहहरुसँग छलफल गरेर निर्णय गरेको तर अहिले स्थानीयको अवरोधले समस्या भएको बताए । उनले सहज वातावरणमा शव अन्त्येष्टी गर्न पाउने गरि सहजीकरण र समन्वय गरिराखेको बताए ।