धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापुर्वक भएको छ ।
सर्लाहीकी ५० वर्षिया महिलाको हिजो (मंगलबार) राती साढे १० बजे आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्णरुपमा बेहोस पारी कोभिड अस्पतालमा भएको अपरेशन थिएटर शल्यक्रिया भएको यो दोश्रो हो । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै उच्च ज्वरो र वान्ता जस्तो लक्षण देखापरेको थियो । उनलाई थप उपचारका लागि राउत डाग्नोष्टिक सेन्टर जनकपुरले प्रतिष्ठानमा रेफर गरेको थयो । प्रतिष्ठानमा उनको थप जांच गर्दा आन्द्रामा छिद्र देखा परेको र पेटमा पनि संक्रमण फैलिएको पत्ता लागेको थियो ।
अपरेशनको तयारी गर्ने क्रममा उनको जिन एक्सपर्ट परीक्षणमा कोरोना संक्रमणको पुष्टि भए पनि जेनेरल सर्जरी विभागका डा. भवानी खनालको नेतृत्वमा कोभिड अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । डा.पोखरेलसँगै सर्जरी विभागका डा. देवेन्द्र कार्की, डा. प्रन्जलचन्द्र पौडेल, डा. निरोज रामदाम, डा. राहुल श्रेष्ठ तथा एनेस्थेसिया विभागकी डा. जेनी बज्राचार्य, डा. रुजन बन शल्यक्रियामा सहभागी थिए । यस्तै, नर्स आर्य लम्साल, संध्या खनाल, मनिला मगर, हेल्पर नरेन्द्र कार्कीको टिमले उक्त शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको सहप्रवक्ता डा.पोखरेलले जनाएका छन् ।
संक्रमित महिलाको कोभिड अस्पतालमा डेलिभरी
प्रतिष्ठानकै कोभिड अस्पतालमा एक कोरोना संक्रमित महिलाको पनि प्रसुती सफलतापुर्वक सम्पन्न भएको छ । कानेपोखरी, मोरङकी ३४ वर्षिया गर्भवतीलाई बैशाख २७ गते (सोमबार) प्रतिष्ठानको प्रसुती विभागको आकस्मिक कक्षमा ल्याइएको थियो । ४१ औं हप्ताकी गर्भवती उनलाई अत्याधिक ढाड दुख्ने, छटपटी हुनेसंगै १०१ डिग्रीसम्म ज्वरो आएपछि प्रतिष्ठान ल्याइएको थियो । उनको सोहि दिन पिआिर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपनि उनलाई भोलीपल्ट बेलुकय ७ बजेर ४५ मिनेटमा गाइने विभागकी डा. दीपा शाहको नेतृत्वमा डा. भवानी मैजु साथै बालरोग विभागका डा. विकास सापकोटा, नर्स जुना तामाङ, लता राजवंशी, हेल्पर अनिश लगायतका टिमले सफलतापुर्वक प्रसुती गराएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । बच्चा तथा आमाको स्वास्थ्य स्थिती सामान्य भए पश्चात आज(मंगलबार) बेलुका होम आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको डा.पोखरेलले जानकारी दिए ।