धरान: धरानमा मृतक कोरोना संक्रमितको शवलाई जलाएर अन्त्येष्टी गर्नको लागि एक समिति गठन गरिएको छ । 

आज बिहान खत्रीधारास्थित दाहसँस्कारस्थल क्षेत्रका स्थानीयबासीहरुसँग गरिएको छलफलले संक्रमितको शव जलाएर अन्त्येष्टी गर्न वैकल्पिक स्थान खोजी गर्ने निर्णय गरेको हो । विकल्पको खोजी गर्नको लागि धरान वडा नं १५ का अध्यक्ष नरेश इवारमको अध्यक्षतामा एक समिति गठन गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

उनका अनुसार उक्त समितिले छिटोभन्दा छिटो वैकल्पिक स्थान खोजी गर्ने र स्थान टुंगो नलागेसम्मको लागि आपतकालिनरुपमा खत्रीधारामा नै शव जलाएर अन्त्येष्टी गर्ने पनि निर्णय गरिएको छ । यो निर्णयप्रति स्थानीय केही महिलाहरुले भने असहमति जनाएका थिए । तर, उपमहानरपालिकाले स्वास्थ्य प्रोटोकल अपनाएर सिमित मानिसको उपस्थितिमा प्रहरीको निगरानीमा अन्त्येष्टी गरिने भएको खतिवडाले बताए । 

वडा नं १५ का अध्यक्ष इवारमले आफुले हिजोदेखि नै वैकल्पिक स्थाना खोजीमा लागिसकेको बताए । उक्त स्थानमा आज पनि स्थलगतरुपमा गएर हेरिने र चाडो भन्दा चाडो वैकल्पिक शव दाहसँस्कारस्थल तयार गरिने उनले बताए ।