धरान: कोरोना संक्रमितको शवलाई परम्परा अनुसार जलाएर अन्त्येष्टी गर्न दिने बिषयमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ ।
धरान उपमहानगरपालिकामा भएको छलफलमा खत्रीधारास्थित शव दाहसँस्कारस्थल नजिकका स्थानीयबासीहरुको प्रतिनिधिहरुले आफुहरुले निर्णय गर्न नसक्ने बताएपछि सहमति नजुटेको हो । उनीहरुले वृहतरुपमा नै स्थानीयबासीसँगको राय बुझेर मात्र निर्णय लिने भनेपछि भोली बिहान पुनः स्थलगतरुपमा नै छलफल गरिने धरान उपमहानगरपालिकाको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार भोली बिहान ८ बजे सेउती खोला किनारमा रहेको मलामी घरमा स्थानीयबासीहरुसँग नै छलफल हुनेछ । आज प्रतिनिधिमुलक छलफल भएको थियो, स्थानीयका प्रतिनिधिहरुले हामीले मात्र निर्णय लिन सक्दैनौं भनेकोले भोली बिहान मलामी घरमा छलफल गर्ने भन्ने भयो, खतिवडाले भने, विकल्प पनि खोज्दै जाने भन्ने भएको छ ।
छलफलमा मेयर तिलक राई, सम्बन्धित वडाका अध्यक्षहरु, दाह सँस्कारस्थल व्यवस्थापन समितिका प्रतिनिधि, खत्रीधारास्थित दाहसँस्कारस्थल क्षेत्रका बासिन्दाका प्रतिनिधिहरु र राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए । मेयर राईले विकल्प पनि खोज्दै जाने तर नभेटिएसम्म अन्त्येष्टी गर्न दिनको लागि आग्रह गरेका थिए । उनले प्रोटोकल अनुसार नै जलाउने भनेर आश्वासन दिएपनि स्थानीयबासीका प्रतिनिधिहरुले आफुहरुले मात्र निर्णय लिन नसक्ने जवाफ फर्काएको छलफलमा सहभागीहरुले बताएका छन् ।
धरानमा खत्रीधारास्थित झिँगु समाजले व्यवस्थापन गर्दै आएको दाह सँस्कारस्थल र धरान ८ स्थित बौद्ध दाहसँस्कारस्थल भएपनि छलफल खत्रीधाराको बिषयमा केन्द्रीत भएको थियो । खत्रीधारामा गएको शनिबार धरान १६ का एक संक्रमितको शव जलाउन नदिएपछि जंगलमा लगेर गाड्नु परेको थियो भने हिजो मंगलबार पनि धरान ३ का संक्रमितको शव जलाउन नदिएपछि विराटनगरस्थित सिंघिया खोलामा लगेर अन्त्येष्टी गरिएको थियो ।