धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उपकुलपतिको पारीवारिक भेटघाटको तस्बिरलाई अतिरञ्जित गरेर समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
वीपी प्रतिष्ठान र उपकुलपतिसँग सम्बन्धित समाचार प्रकाशित भएपछि प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै उक्त समाचार गलत, भ्रामक, तथ्यहिन र कपोकल्पित भएको जिकिर गरेको छ । कुनै आधार र प्रमाण बिना एक पक्षीय रुपमा समाचार लेखेर प्रतिष्ठानको छवि धमिल्याउने तथा उपकूलपतिको चरित्र हत्या गर्ने काम भएको भन्दै विज्ञप्तीमा खण्डन गरिएको छ।
'प्रतिष्ठान र प्रतिष्ठानका उपकूलपतिलाई लगाइएका आक्षेपहरु निराधार, कपोकल्पित, पूर्वग्राही र एकतर्फी भएको हुदा उक्त समाचारको प्रतिष्ठान पूर्णरुपले खण्डन गर्दछ । साथै यस्ता समाचारहरुले प्रतिष्ठानको छवी धमिल्याउने र प्रतिष्ठानका पदाधिकारीको मानहानी गर्न मात्र खोजिएको स्पष्ट देखिन्छ,' विज्ञप्तीमा भनिएको छ, 'उक्त अनलाइन पत्रिकाले अढाई–तीन वर्ष अगाडि उपकूपतिज्यूको पारिवारीक जमघटमा खिचिएका तस्विरहरुलाई प्रकाशित गरेको र मनगढन्ते श्रोतको हवाला दिंदै हालसालका तस्विरहरु हुन वा होइनन् भनि आफैले एकिन नभएको भनि समाचारमा नै उल्लेख भएबाट सर्वसाधारणलाई भ्रमित गर्न खोजिएको स्पष्ट हुन्छ ।'
प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले पाउनुपर्ने कोभिड जोखिम भत्ता, उनीहरुको बढुवा, कोभिड महामारीको व्यवस्थापन, प्रतिष्ठानको स्तरोन्नती लगायत महत्वपूर्ण विषयहरुमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय एवं प्रतिष्ठानले नै आयोजना गरेका विभिन्न बैठकहरुमा छलफल गर्ने क्रममा उपकुलपति बेला बेला काठमाण्डौं जाने गरेको पनि विज्ञप्तीमा उल्लेख छ । काठमाडौं जाँदा बालकुमारीस्थित आप्mनै निवासमा उपकुलपति बस्ने गरेको पनि प्रतिष्ठानको दाबी छ ।
नेपालमा कोभिड–१९ को पहिलो लहरको लडाईमा प्रदेश नं. १ मा वीपी प्रतिष्ठान एक्लै उभिएको भन्दै विज्ञप्तीमा सो लडाईबाट आर्जन गरेको अनुभवका आधारमा हाल अक्सिजन प्लान्टबाट कोभिड अस्पतालका वार्डहरुमा पुग्ने गरि अक्सिजन पाइपलाइन विछ्याइएको दाबी गरिएको छ । साथै अक्सिजन प्लान्टलाई अझ बढी व्यवस्थित बनाई हाल पूर्ण क्षमताका साथ संचालन भइरहेको उल्लेख छ । प्रतिष्ठानले १०० बेडको कोभिड अस्पतालमा आइसियु, पिआइसियु, एचडियु र जनरल अक्सिजन सपोर्ट बेडहरु सञ्चालनमा रहेको विज्ञप्तीमा खुलाइएको छ ।