धरायन: जातीय परम्यरा अनुसार कोरोना संक्रमितको शव जलाएर अन्त्येष्टी गर्न धरानमा वैकल्पिक दाहसँस्कारस्थलको खोजी गरिएको छ ।
बिहिबार बिहान खत्रीधारास्थित दाहसँस्कारस्थल नजिकका स्थानीयबासीसँगको छलफलबाट वडा नं १५ का अध्यक्ष नरेश इवारमको अध्यक्षतामा वैकल्पिक स्थान खोजी गर्न एक समिति गठन गरिएको थियो । उक्त समितिले दिउँसो धरान १५ स्थित बाँझगरा सामुदायिक वन क्षेत्रमा वैकल्पिक दाहसँस्कारस्थलको खोजी गरेको हो । धरान ६ पानवारी जाने सडकखण्डको सेउती पुल दक्षिणतर्फ उपयुक्त स्थानमा वैकल्पिक दाहसँस्कारस्थल तयारीको लागि काम शुरु भइसकेको अध्यक्ष इवारमले बताए ।
उनको नेतृत्वमा बिहिबार दिउँसो स्थलगत निरीक्षण गरिएको थियो । उक्त स्थानमा सबै जातजातिको शवलाई समाधिस्त गरिदै आएको र उक्त स्थानमा नै संक्रमितको शवलाई पनि व्यवस्थापन गर्ने गरि काम शुरु भइसकेको अध्यक्ष इवारमले बताए । “समाधी व्यवस्थापन समितिका पदाधिकारीसँगै गएर स्थलगत हेर्यौं । सबै जातजातिको शव दाहसँस्कारस्थल रहेछ । त्यहाँ मानव वस्तीलाई पनि असर नहुने भएकोले एकदमै उपयुक्त ठाउँ छ,”उनले भने,“कामहरु शुरु भइसकेको छ, ढिलोमा एक साताभित्र तयार हुन्छ ।”
उक्त स्थानमा पानीको समस्या देखिए पछि खानेपानी व्यवस्थापन बोर्डलाई नयाँ धारा तोड्न माग गरिएको छ । बोर्डले भोली र पर्सिभित्र धारा जोडिदिने भएको छ । यस्तै, मेयर तिलक राईले ईलाका वन कार्यालयलाई पत्राचार गरेर शव जलाउनको लागि काठ उपलब्ध गराईदिन पत्राचार पनि गरिसकेका छन् । “भोली बिहान मेयर साब पनि अवलोकन गर्न जानुहुदैछ,”इवारमले भने ।
धरानको खत्रीधारास्थित दाहसँस्कारस्थलमा स्थनीयले संक्रमितको शव जलाउन नदिए पछि वैकल्पिक दाहसँस्कारस्थलको खोजी शुरु भएको हो । गएको शनिबार धरायन १६ का संक्रमितको शवलाई स्थानीयले जलाउन रोके पछि जंगलमा गाड्नु परेको थियो भने धरान ३ का संक्रमितको शव धरान, इटहरी र चतरामा पनि जलाउन नदिए पछि विराटनगरस्थित सिंघिया खोलामा अन्त्येष्टी गरिएको थियो ।