विराटनगर: कोरोना संक्रमण भएर आईसोलेसनमा बसेका मोरंगका पत्रकारलाई नि: शुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । 

क्युरा हेल्थले बिशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि: शुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जादा सरुवा रोग कोभिड लगायतका संक्रमणहरु सर्ने सम्भावना हुँदा टेलिमेडिसिन सेवा मार्फत सेवा लिन सकिने जनाइएको छ ।

सामान्य लक्षण भएका संक्रमित पत्रकारहरुलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस भनेर क्यूराहेल्थले यस्तो सुविधा नि: शुल्क दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताइन् । कोरोना संक्रमणपछि उत्पन्न हुनसक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने उनले बताइन् । 

टेलिमेडिसिन सेवा प्राप्त गर्न क्यूरा हेल्थको  मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्ने हुन्छ । एपमा देखाइए अनुसार कोभिड–१९ खण्डमा गई सूचिकृत भएका चिकित्सकहरुसँग एपोइटमेन्ट लिनुपर्छ र चिकित्सकहरुबाट सेवा प्राप्त गर्न सकिनेछ । यसैबीच क्यूरा हेल्थसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरुलाई सम्पर्क गराउन छुट्टै वेभ लिंक संचालनमा ल्याएको छ । 

एनवाईइएफ विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सवैजना मानिसहरु त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरु पनि अन्यौलमा परिरहेको बताए । उनले प्लाज्मा दान गर्न चाहने व्यक्तिहरुले सो वेवसाइटमार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरुले सम्पर्क गर्न सक्ने र संक्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरुको विवरण थाहा पाउन सहज हुने बताए । अध्यक्ष खनालले अस्पतालहरुमा उपचाररत संक्रमितहरुका लागि सामाजिक सञ्जालहरुमा प्लाज्मा आवश्यक भएको सूचनाहरु धेरै आउन थालेकोले प्लाज्मा दिन इच्छुकहरुलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह गरेका छन् ।