धरान: प्रत्येक घरमा कोरोना संक्रमित भेटिए पछि इनरुवा वाड नं २ स्थित मेहता टोललाई सिल गरिएको छ । 

उक्त क्षेत्रमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ भने प्रत्येक घरमा संक्रमित भेटिएको इनरुवाका मेयर राजन मेहताले जानकारी दिए । कोरोना संक्रमणको उच्च जोखिम रहेकोले उक्त क्षेत्रलाई सिल गरिएको मेहताले बताए । अर्को आदेश नभएसम्मको लागि मेहता टोल सिल गरिएको छ, मेयर मेहताले भने । 

उक्त क्षेत्र मेयर मेहता र सांसद सिताराम मेहताको पनि घर भएको टोल हो । त्यसक्षेत्रमा करिब ५ सय हाराहारीमा घरधुरी रहेको छ । त्यहाँको लगभग घरैपिच्छे संक्रमित भएकोले स्थिति भयावह रहेको मेयर मेहताले बताए । उनले भने, हामी के गर्ने भनेर छलफलमा बसिरहेका छौं । डाक्टरको टोली त्यहाँ छन्, र होम आइसोलेसनमा बसेकालाई बुझ्दै, परामर्श गर्ने, साह्रो भएकालाई रिफर गर्ने काम भइरहेको छ । 

यसैबीच, सुनसरीको डिसिसिएमसि बैठकले संक्रमण जोखिमको अवस्था हेरेर चार किल्ला तोकेर सिल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । आज बसेको डिसिसिएमसि बैठकले गरेको उक्त निर्णय जिलल प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ । 

प्रशासनको पत्र अनुसार जुनसुकै क्षेत्रमा कोरोना संक्रमणको जोखिम देखिएको अवस्थामा तत्काल न्युन गर्न सो क्षेत्रलाई सिल गर्न सकिनेछ । त्यसको लागि स्थानीय तहले प्रहरीको सहयोग लिएर चार किल्ला उल्लेख गरेर निश्चित अवधि तोकेर सिल गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । 

sil-decision