धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्लाहीकी ४५ बर्षीया महिला छिन् । उनको आज बिहान ११ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।

उनका अनुसार मृतकलाई बैशाख २८ गते कोभिड पुष्टि भएको थियो भने २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।