धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका सुनसरीका पत्रकारहरुलाई बिहिबार मोवाइल डाक्टर सेवामार्फत आवश्यक स्वास्थ्य परामर्श दिइएको छ ।
प्रेस युनियन सुनसरीले सुरु गरेको मोबाइल डाक्टर अभियान अन्तर्गत जिल्लाका संक्रमित पत्रकारहरुलाई यो सेवा दिइएको हो । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार धरानका तीनजना पत्रकारहरुलाई मोबाइल डाक्टर सेवा दिइएको छ । यसअघि इटहरी र इनरुवाका ८ जना सञ्चारकर्मीहरुलाई यो सेवा दिइएको उनले जानकारी दिए ।
मोबाइल डाक्टर सेवाका लागि डा. अमित कुमार खतिवडा, औषधी विज्ञ धनेश्वर शर्मा, स्टाफ नर्स किरण चौधरीले चिकित्सकीय परामर्श दिदै आएका छन् । यस्तै, केयरफस्ट पोलिक्लिनिक कालाबञ्जरले आवश्यक औषधी तथा भिटामिनका सामान उपलब्ध गराउँदै आएको प्रेस युनियनले जनाएको छ । इटहरीका सर्जिकल व्यवसायी ओमप्रकाश निरौलाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
‘हामीले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै गएर डाक्टरसहित औषधी प्रदान गर्दै आएका छौँ,’ अधिकारीले भने, ‘डाक्टर र नर्सले कोरोना संक्रमितहरुलाई उत्प्रेरणामुलक कुरा सेयर गर्ने र औषधी प्रदान गर्दै आउनुभएको छ, यो अभियानले यसबेला कोरोना जित्नका लागि हौसला मिलेको अनुभव गरेका छौँ ।’
धरानका सञ्चारकर्मी कमानसिंह राई, नवीन रम्तेल र नेगेटिभ रिपोर्ट आएर पनि शरीर अस्वस्थ रहेका पारस राईलाई उनीहरु बसेकै स्थानमा गएर चिकित्सकहरुले बिहीबार परामर्श गरेका थिए । त्यस्तै, इटहरीका सञ्चारकर्मी प्रकाश तिम्सिनाको घरमै गएर परामर्श दिइएको थियो । होम आइसोलेसनमा रहदा के गर्ने, के नगर्ने, के खाने, के नखाने भन्ने विषयमा डा. खतिवडाले आवश्यक परामर्श दिएका थिए । यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएर त्रासमा बाचिरहने भएकोले सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुने डा. खतिवडाले बताए । घरमै चिकित्सकीय टोलीसहित युनियनले स्वास्थ्य अवस्था बुझ्न आउनु सकारात्मक रहेको आइसोलेसनमा रहेका पत्रकारहरुले प्रतिक्रिया दिए ।