विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताएकी छिन् । 

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग बिहिबार भएको छलफलमा मन्त्री राईले प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने बताएकी हुन् । कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनको भनाई थियो । छलफलका क्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न माग गरे । उनले वैकल्पिक विधिबाट शिक्षालाई अघि बढाईने बताए । ‘सँधै विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन,’उनले भने । 

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकोमा जोडदिए । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उहाँले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।