धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा कोरोना संक्रमितको न्युरो सर्जरी सफलतापुर्वक भएको छ । 

प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहालको नेतृत्वमा ६ जनाको स्वास्थ्यकर्मीहरुको टिमले कोभिड अस्पतालस्थित अपरेशन थिएटरमा अप्रेशन गरेको हो । उक्त टोलीले धरानकै ५७ बर्षीय पुरुषको अप्रेशन गरेको हो । डा.दाहालका अनुसार एनेस्थेसियाका कन्सल्टेन्ट डा.आशिष घिमिरे, जेआर डा.नविन, न्युरो सर्जरीका जेआर डा.सुशिल र स्टाफ नर्ससहित ६ जना अप्रेशनमा संलग्न थिए । वार्डमा भर्ना भएका विरामीको नियमित अप्रेशन अघि पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आज (बिहिबार) कोभिड अस्पतालमा अप्रेशन गरिएको हो ।

उक्त विरामी लडेर दिमागमा रगत जमेको थियो भने शरीरको बाँया भाग चलेको थिएन । उनलाई प्रतिष्ठानमा मंगलबार उपचारको लागि भर्ना गरिएको थियो । मुटुको पनि समस्या भएपछि उनलाई वार्डमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । ‘अप्रेसन गर्नुपर्ने थियो, त्यसैले हिजो पिसिआर जाँच गर्दा पोजेटिभ आयो,’डा.दाहालले भने,‘रिपोर्ट पोजेटिभ आएपछि कोभिडमा डा.विकास साहसँग समन्वय गरेर बेड व्यवस्थापन भएपछि आज अप्रेसन गर्यौं ।’

डा.दाहालका अनुसार विरामीको दिमागको हड्डी निकालेर जमेको रगत निकालिएको छ । फोहोर पानी निकाल्नको लागि ड्रेन राखिएको छ । उक्त ड्रेनलाई भोली हटाइने डा.दाहालले बताए । ‘विरामीको हातखुट्टा चलेको छ, स्वास्थ्य अवस्था स्थिर छ । आइसियुमा भर्ना गरेका छौं,’उनले भने,‘एकदमै इर्मजेन्सी भएर नै अप्रेसन गरिएको हो । नत्र प्यारालाइज हुने र ज्यान जाने खतरा थियो ।’