विराटनगर: विरामीलाई अत्यधिक महंगोमा औषधी बिक्री गरि कालोबजारी गरेको आरोपमा एक फार्मेसी सञ्चालक विराटनगरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका ७ घर भई हाल विराटनगर ३ स्थित विराट अस्पताल नजिक पश्चिमबासी फार्मेसी सञ्चालक २२ बर्षीय रविन्द्र महतो हुन् । उनले सिरहा बरियारपट्टी गाउँपालिका ३ का ४५ बर्षीय रामनारायण मुखियलाई औषधी बिक्री गर्दा वास्तविक मुल्यभन्दा बढी लिएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार पीडित मुखियाले महतोको फार्मेसीबाट बैशाख २५ गतेदेखि ३० गतेसम्म औषधी खरिद गरेका थिए । महतोले औषधी बिक्री गर्दा २ वटा खाता बनाएर एउटा खातामा औषधीको वास्ताविक मुल्य लेख्ने र अर्को खातामा बढी मुल्य लेख्ने साथै बढी मुल्यको खाता ग्राहकलाई देखाएर बढी मुल्य लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले महतोलाई उनकै फार्मेसीबाट पक्राउ गरि कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको पनि मोरङ प्रहरीले जानकारी दिएको छ ।