धनकुटा: कोरोना संक्रमितको आत्मवल बढाउन धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुगिरहेका छन् ।
होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर परामर्श दिने र आत्मवल बढाउने काम दुवैले गरिरहेका छन् । संक्रमितसँग भौतिक दुरी कायम गरी कुराकानी गर्ने साथै खानेकुरा र स्वास्थ्य सामाग्री पनि वितरण गरिरहेका छन् । कोरोना संक्रमण बढ्दै जाँदा धेरै संक्रमितहरु घर–घरमै ‘होम आइशोलेशन’ बसिरहेकाले रोगसँग लड्ने हौसला प्रदान गर्ने अभियान चलाइएको मेयर नेपालले बताए ।
‘अहिले अधिकांश कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्नु भएको छ । उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्ने, सावधानी अपनाउनुपर्ने कुरा स्वास्थ्यकर्मीहरुमार्फत बताउन लगाउने र उहाँहरुलाई औषधी, स्वास्थ्य सामाग्रीसहित केही खानेकुरा पनि दिने गरेका छौं,’ मेयर नेपालले भने, ‘यसले गर्दा संक्रमितहरुमा निरासा कम भई हौसला र रोगसँग लड्ने आत्मवल बढ्छ भन्ने ठानेर यो अभियान चलाएका हौं ।’
संक्रमितहरुलाई भेट्नका लागि मेयर नेपाल, उपमेयर अधिकारी, स्वास्थ्य शाखा प्रमुख पर्शुराम थापा, जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठ र मेयरका सचिवालय प्रमुख विष्णु दाहाल गाउँ–गाउँ खटिएका छन् । उनीहरुले हरेक संक्रमितका घरमा पुगेर डावर च्यवनप्राश, हर्लिक्स, सेनिटाइजर, केही थान मास्क र आवश्यक औषधी वितरण गरिरहेका छन् ।
महालक्ष्मी नगरको केन्द्र जितपुरबाट यो अभियान थालिएको छ । अब संक्रमित भएका सबै वडामा पुगेर उनीहरुसँग भेटघाट गरी सामाग्री प्रदान गर्ने प्रदान गर्ने गरेका छन् । उपमेयर अधिकारीले बताइन् । हाल महालक्ष्मीमा ३३ जना सक्रिय संक्रमित रहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि महालक्ष्मी नगरले बिभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । महालक्ष्मी नगरका हरेक नागरिकका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले होमियोप्याथिक औषधि पनि निःशुल्क वितरण भइरहेको छ । त्यस्तै, संक्रमितका लागि जितपुरमा अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाइएको छ । संक्रमितलाई अस्पताल पुयाउँनका लागि एम्बुलेन्सको निःशुल्क व्यवस्था पनि मिलाइएको छ । नगरबासीमा कोरोना संक्रमण पुष्टि भई गंम्भीर अवस्था भएर आइसोलेशनमा उपचार गराउँनु परेमा २५ हजारका दरले आर्थिक सहयोग पनि उपलब्ध गराइदै आएको मेयर नेपालले जानकारी दिए ।