सुनसरी: इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवै पक्षसँग आग्रह गरेको छ । 

सर्वपक्षीय छलफल आयोजना गरेर उपमहानगरपालिकाले यस्तो आग्रह गरिएको हो । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरले कोरोना रोगथाम र नियन्त्रणमा अहिलेसम्म गरिएका कार्य बारेमा जानकारी गराइएको थियो ।

स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग, कन्ट्याक ट्रेसिड, आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी गराएका थिए । परीक्षणको दायरा बढाएर हाल सयभन्दा बढीको परीक्षण थालिएको र त्यसलाई अझ वढाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

छलफलमा पीसीआर परीक्षण गर्ने मेशिन खरिदका लागि सहयोग गर्ने त्यसको संचालन र ब्यवस्थापन उपमहानगरले गर्नुपर्ने प्रस्ताव गरिएको छ । उपमहानगरका प्रमुख चौधरीले त्यसबारे प्राविधिक पक्ष अध्यन गरेर आवश्यक निर्णय लिइने वताए । वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराई र वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले कोरोना रोगथाम र नियन्त्रणमा वडामा भइरहेका कार्यका वारेमा वताएका थिए । 

समुदायस्तरमै गएर एन्टिजेण्ट परीक्षण गर्न थालिएको उपमेयर लक्ष्मी गौतमले बताएकी थिइन् । वैठकमा नेकपा एमाले इटहरी अध्यक्ष याम सुव्वा, नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेल, नागरिक समाजका अध्यक्ष सन्त डुम्जन, पूर्व अध्यक्ष कमलेश पौडेल, रेडक्रस सभापति विमल पौडेल, मुक्तिधाम ब्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेले सुझाव प्रस्तुत गरे ।