विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने बताएकी छिन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा प्रदेश सरकार लागेको बताइन् । विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको मन्त्री राईको भनाई थियो ।
अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताइन्् । उनले भनिन्,‘सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन । गरिब जनता पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर यो अवधारणा ल्याइएको हो ।’ सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरिको सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईले बताइन् । उनले उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत प्रष्ट पारिन् ।
सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाईरहेको जानकारी दिइन् । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनले महिला, बालबालिका, जेष्ठ नागरिक संवन्धिको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । साथंै, उनले सामाजिक विकास परिषद् गठनमा जोड दिएका थिए ।
कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझाव सँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन् । सामाजिक क्षेत्रले उठाएका सवालहरुलाई सरकारले दीगोपना दिनुपर्नेमा उनले जोड दिइन् । माईती नेपालका मोरङ संंयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गरे् । एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताए । उनले अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरे । अधिकारकर्मी डिक घिमिरेले विगत बर्षका राम्राकार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।