धरान: बिहिबार साँझ प्रहरी माथि आक्रमण गर्ने हतियारधारी समुहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा तोडफोडसमेत गरेर भागेको खुलेको छ । 

युवाहरुको झगडा भएको र ज्यान जोगाउन २ जना युवाहरु भाग्दै गएर प्रहरी चौकीभित्र छिरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती दुई युवाहरुलाई पछ्याउदै पुगेको समुहले चौकी भित्रै प्रवेश गरेर अन्धाधुन्धा आक्रमण गरेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । युवाहरु भाग्नुभन्दा अघि प्रहरी कार्यालयको सिसाको झ्यालहरु पनि फुटाएको उनले बताए । 

उनका अनुसार ज्यान जोगाउन आएका २ जना युवालाई घटनाबारे सोधपुछ गर्दै गर्दा एक्कासी हतियारसहितका युवाहरु पुगेका थिए । त्यसपछि २ जना युवालाई आक्रमण गर्न खोज्दा रोक्ने क्रममा असई सुमन दाहालमाथि आक्रमण भएको प्रहरी निरीक्षक ओलीले बताए । ‘केटाहरुको झगडा भएको रहेछ, र २ जना ज्यान जोगाउन भाग्दै प्रहरी चौकी भित्र पसेको रहेछ । असई साबले के कसो भएको हो भनेर सोध्दै गर्दा अर्को समुह हतियारसहित पुगेर आक्रमण गर्न खोजेछन्,असई साबले रोक्न खोज्दा घाइते हुनु भएको छ । भाग्नु अघि केटाहरुले सिसा तोडफोड गरेछन्,’ओलीले भने ।

ज्यान जोगाउन प्रहरी चौकीभित्र प्रवेश गरेका २ जना युवाहरु ईलाका प्रहरी कार्यालयमा राखिएको छ । आक्रमण गर्नेहरुबारे पहिचान खुलिसकेको र प्रहरीले खोजी कार्य तीब्र बनाएको छ । ‘हामी लागिपरेका छौं, पहिचान खुलिसकेको छ,’ओलीले भने । स्थानीयका अनुसार आक्रमणकारी समुह स्कुटर र मोटरसाइकलमा आएका थिए ।