धरान: सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नमा व्यापारीहरुले उपभोक्तालाई मार पर्ने गरि अत्यधिक मुल्यवृद्धि गरेर बिक्री गरेको पाइएमा कारबाही गर्न सहयोग गर्ने जनाएको छ ।
संघले बिहबार थोक बिक्रेताहरुसँग खाद्यान्तको दरभाउ र आपूर्तिबारे आयोजना गरेको छलफलमा अध्यक्ष गिरीधारी सापकोटाले मुल्य अत्यधिक बढाएको पाइए कारबाहीमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । ईलाका प्रशासन कार्यालय, धरान उपमहानगरपालिकासहितको छलफलमा अध्यक्ष सापकोटाले तेलको मूल्यवृद्धिबारे व्यापक गुनासो आईरहेको पनि खुलाएका थिए । तर, उनले तेलको मूल्यवृद्धि स्थानीय व्यापारीहरुबाट नभई अन्तर्राष्ट्रिय क्षेत्रबाटै भएको दाबी पनि गरे । सनफ्लावर तेल युक्रेन, रसिया र अर्जेन्टिनाबाट आयात हु“दै आएकोमा हाल ती देशहरुमा करिब ६० प्रतिशत उत्पादनमा कमी भई पर्याप्त मात्रामा आयात हुन नसकेकोले मूल्यवृद्धि भएको उनको भनाई थियो ।
यस्तै, रिफाईन तेलको कच्चा पदार्थ ब्राजिल र साउथ अमेरिकाबाट आयात हुँदै आएकोमा उत्पादनमा कमी हुँदाहुँदै पनि करिब ७३ प्रतिशत कच्चा पदार्थ चाईनाले खरिद गरेपछि अन्य बजारमा अभाव भई मूल्यवृद्धि भएको अध्यक्ष सापकोटाको भनाई थिाये । नियतवश कुनै पनि व्यापारीले अनैतिकरुपमा मूल्यवृद्धि गरेको थाह पाए आवश्यक कारवाही गर्न सहयोग गर्ने समेत उनको भनाई थियो । सापकोटाले हाल बजारमा थोक बिक्रेताले चिनी खरिद गर्दा उद्योगमै ८५ रुपैया पर्ने र ढुवानी, लोड अनलोड खर्च र भ्याट रकम समेत गर्दा समेत त्यसको मूल्य पहिलको भन्दा बढी भएको बताए ।
अध्यक्ष सापकोटाले तेलको मुल्य अन्र्तराष्ट्रिय क्षेत्रबाटै मुल्यवृद्धि भएको दाबी गरेपनि धरानका थोक बिक्रेताहरुले नै खुद्रा व्यापारीले बिक्री गर्नुपर्ने प्रिन्ट मुल्य(एमआरपि) लिएर खानेतेल खुद्रा व्यापारीहरुलाई बेचेर कालोबजारी गरिरहेको पाइएको छ। एक खुद्रा व्यापारीले दिएको जानकारी अनुसार थोक बिक्रेताले वास्तविक मुल्य पर्ने तेलको भ्याटविल उपलब्ध गराए पनि अत्यधिक मुल्य बढाएर अर्को सादा विल पनि थमाउने गरेको छ । ‘भ्याटविल अनुसार हामीले मुल्य तिर्दा सस्तो नै पर्छ, तर थोकव्यापारीले अर्को सादा विल पनि दिन्छ, जसमा तेलको मुल्य बढी तिर्नुपर्छ,’क्लिकधरानसँग ती व्यापारीले भने,‘भ्याट विल सस्तो छ, तर हामीले महंगोमा तेल ल्याउछौं, अनि उपभोक्तालाई पनि महंगोमा नै बेच्नु परिरहेको छ ।’
कार्यक्रममा प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपूर्ति समितिका संयोजक शिवराज श्रेष्ठले व्यवसायीहरुलाई एमआरपी दररेट भन्दा बढीमा सामान बिक्री नगर्न आग्रह गरेका थिए । स्वागत मन्तव्य राख्दै श्रेष्ठले बिक्री गरिने वस्तुहरुमा एमआरपी उल्लेख नभएको भए बिल बमोजिम सम्पूर्ण खर्च जोडी थोरै नाफामा मात्र बिक्री गर्न आग्रह गरेका थिए ।
अनुगमन अधिकृत वेदराज सापकोटाले बोइलर कुखुराको मासु तथा सागसब्जीको मूल्य वृद्धि भईरहेको तथा विशेष गरि बेकरीको आइटममा उत्पादन मिति उल्लेख नगरिएको जानकारी दिए । इलाका प्रशासन कार्यालयका धरानका प्रमुख सुवासकुमार लामिछानेले गुणस्तर र परिमाण अनुसार दरभाउ कायम हुनुपर्ने बताए । मूल्यवृद्धि भएको प्रमाणित भएमा आवश्यक कार्वाही गर्न सुनसरी उद्योग वाणिज्य संघले सहयोग गर्नुपर्ने पनि उनले बताए ।
संघका कार्यसमिति सदस्य विष्णु बरालका अनुसार कार्यक्रममा धरानकी उपप्रमुख मन्जु भण्डारीले “अनुगमन गरेर व्यापारीहरुलाई आतंकित बनाउने उपमहानगरपालिकाको चाहना नभएको तर मूल्य र उत्पादन मिति सम्बन्धमा व्यापारीहरुपनि इमान्दार हुनुपर्ने” बताएकी थिईन् । संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको उक्त कार्यक्रममा वाणिज्य सचिव सिताराम आचार्यले यदि ग्राहकलाई खाद्यान्न, विशेष गरि चामल, दाल, नून, चिनी लगायतका सामाग्री होम डेलिभरी गर्नुपर्ने भए सुनसरी उद्योग वाणिज्य संघले आवश्यक व्यवस्था गर्ने तयारी भईसकेको समेत बताएका थिए ।