काठमाण्डौं: नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।

खोप खरीदमा २६ अर्ब ७५ करोड बजेट

अर्थमन्त्री पौडेलले बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् । गत बर्ष स्वास्थ्यमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसपाली अर्थमन्त्री पौडेलले कोभिड १९ को उपचार तथा रोकथामको लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेका छन् भने कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको जानकारी दिएका छन् । यस्तै, स्थानी तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन ७ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् । 

अक्सिजन उद्योगलाई छुट 

अक्सिजन उद्योग स्थापनामा चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा सरकारले छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि जानकारी दिए । कोभिड अवधिभरको लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने पनि बजेट वक्तव्यमार्फत अर्थमन्त्री पौडेलले बताए । 

निषेधाज्ञा अवधिमा विद्युत महसुलमा छुट

सरकारले कोरोनाको कारण लागु गरेको निषेधाज्ञा अवधिमा छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य मार्फत निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट दिने घोषणा गरेका छन् । यस्तै, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए ।

यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए ।