धरान: कोरोना संक्रमितहरुलाई अलग्गै राख्नको लागि धरानमा नेपाल पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिकाबीच सहकार्य भएको छ । 

दुवैको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहलाई आइसोलेसन सेन्टर बनाइएको छ । उक्त सेन्टरमा संक्रमितहरुलाई अक्सिजन सहित खाने, बस्ने व्यवस्था गरिएको छ । उपमहानगरले जेठ १ गतेदेखि नै उक्त सेन्टर तयार गरेको थियो । त्यहाँ २५ बेड क्षमता रहेको छ । हाल ७ जना संक्रमितहरु उक्त सेन्टरमा रहेका छन् । 

उक्त आइसोलेसन सेन्टरको आज मेयर तिलक राई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वडा न. १९ का अध्यक्ष पूर्ण लिम्बुसहितको टोलीले निरीक्षण गरेको थियो ।

hariyali1

मेयर राईले आईशोलेसनमा बसेका कोभिड संक्रमितहरुको अवस्था र व्यवस्थापनको बारेमा आवश्यक जानकारी लिएका थिए । पत्रकार महासंघका अध्यक्ष राईले आईशोलेसन सेन्टरमा महासंघको पनि सहकार्य रहेको खुलाउदै संक्रमित भएका सुनसरीका पत्रकारहरुलाई आवश्यक परे यहाँ राखिने बताए । 

आईशोलेसन सेन्टरमा उपमहानगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ । आईशोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मी दिपकला राईले जानकारी दिइन् । खानेकुराको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ । आईशोलेसन सेन्टरमा बसेका संक्रमितहरुका लागि खेलकुदका सामाग्रीहरु पनि व्यवस्थापन गरिएको जनाएको छ ।