विराटनगर: मोरङमा थप एक साताको लागि निषेधाज्ञा बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा बढाएको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एक सूचना जारी गर्दै कोरोना सङ्क्रमण बढिरहेको कारण जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको थप गरिएको जानकारी दिएका छन् । प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजे सकिन लागेपछि थप २४ गतेसम्म बढाएको हो ।
प्रशासनले बिहान ६ बजेदेखि १० बजेसम्म खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, माछामासु, दुध, डेरीलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसलहरु भौतिक दुरी कायम गरि, मास्क र सेनिटाइजर तथा व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर खोल्न पाउने व्यवस्था गरेको छ ।