विराटनगर: डिउटी सकेर घर फर्कदै गरेका एक स्वास्थ्यकर्मीलाई विराटनगरमा प्रहरीले निर्घात कुटपिट गरेको छ ।

विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवशीलाई गए राती प्रहरीले कुटपिट गरेको हो । पीडित राजवंशीका अनुसार राती करिब ९ बजे तिर देवकोटा चोकमा खटिएका प्रहरीले उनलाई कुटटिप गरेका थिए । डिउटी सकेर घर फर्कदै गर्दा देवकोटा चोकमा पुगेपछि प्रहरीले रोकेर एक्कासी हात र तीघ्रामा भाटाले कुट्न थालेको उनको भनाई छ । अस्पतालमा डिउटी सकेर घर फर्केको जानकारी दिदादिदै पनि प्रहरीले रातको समयमा किन हिडेको भन्दै कुटेको पीडित राजवंशीको भनाई छ । 

मोरङ प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । घटनाबारे आज  मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्कासहित कोसी अस्पतालमा बैठक भएको थियो । उक्त बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरमा ल्याउने आश्वासन एसपी खड्काले दिएको अस्पतालका मेसु डा. चुमनलाल दासले बताए ।

यसैबीच, स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै कोशी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । उनीहरुले कोशी अस्पताल परिसरमा आन्दोलन गर्दै कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा भएको आनदोलनरत चिकित्सकहरुले सुरक्षाको माग पनि राखेका छन् ।