धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा कोरोना संक्रमित एक जना बालकको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । 

प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहाल र उनको टिमले हिजो (बुधबार) राती ५ बर्षीय कोरोना संक्रमित बालकको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेका हुन् । विराटनगरमा पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएपछि शल्यक्रिया नगरि पठाइदिएर अलपत्र झैं बनेका ती बालक र उनको अभिभावकले अहिले यहाँ राहतको सास फेरेका छन् । 

डा.दाहालको टिमले यसअघि पनि जेठ पहिलो साता धरानकै एक संक्रमित पुरुषको न्युरो सर्जरी सफलतापुर्वक गरेका थिए । डा.दाहालका अनुसार ब्रेन ट्युमर भएका बालक भारतीय हुन् । उनीहरु विराटनगरमा उपचारको लागि आएको र एमआरआई गर्दा ब्रेन ट्युमर भएको कन्र्फम भएको थियो । तर, त्यहाँ पिसिआर पनि जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि भने शल्यक्रिया हुदैन भनेर पठाइदिएका थिए । त्यसपछि ती बालकका अभिभावकहरु भौतारिदै वीपी प्रतिष्ठान धरान आएका थिए ।

वीपीमा पनि पिसिआर परीक्षण गर्दा विरामीको रिपोर्ट पोजेटिभ आएको थियो । तर, बालकको अवस्था ज्यादै गम्भीर भएको कारण कोभिड अस्पतालमा शल्यक्रिया गर्ने निर्णयमा आफुहरु पुगेको डा.दाहालको भनाई छ । यसको लागि उनलाई कोभिड अस्पतालका फोकल पर्सन डा.विकास साह, पेडियाट्रिक विभागका डा.जितेन्द्र ठाकुर, डा.स्नेहा किरणले साथ दिए । शल्यक्रियामा डा.दाहालसँगै डा.निमेष विष्ट, डा.शुसिल, एनेस्थेसिया विभागका सिनियर कन्सल्टेन्ट डा.आशिष सुवेदी, जेआर डा.प्रशान्त, स्टाफ नर्स कविता, टेक्निसियन चन्द्र, हेल्पर पुजा लगायत संलग्न थिए ।

डा. दाहालका अनुसार बच्चा आँखा पनि नहेर्ने, आँखाको नानी सुन्निएको र हातखुट्टा पनि नचलाउने स्थितिमा पुगिसकेको थियो । ‘बच्चाको रिपोर्ट नेगेटिभ आउदासम्म पर्खने स्थिति नै थिएन, त्यसैले अप्रेशन गरिहाल्ने निर्णयमा पुग्यौं,’डा.दाहालले भने,‘झण्डै साढे ४ घण्टा लगाएर अप्रेशन भयो, अहिले हिजोको भन्दा अवस्था राम्रो छ ।’ उनका अनुसार बच्चाको दिमागको दुवैतर्फ ट्युमर थियो । दिमागमा पानी पनि धेरै जमेको थियो । शल्यक्रिया गरेर ट्युमरले बनाएको पानी सबै र ट्युमरको मासु पनि निकालेको डा.दाहालले बताए । ‘बायोस्पी, कल्चर गर्न दिएका छौं, त्यसको रिपोर्ट कस्तो आउछ, त्यसपछि रेडियो थेरापी गर्ने कि के गर्ने भनेर निर्णय हुन्छ,’उनले भने ।