इटहरी: इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ ।
नगरबासीहरुको सहजताका लागि टोलमै पुगेर निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार अहिले सम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ मा समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको उनले बताइन् ।
परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गर्ने गरेको उपमहानगरले जनाएको छ । कुनै समस्या देखा परेमा सम्पर्क गर्नको लागि स्वास्थ्यकर्मी, चिकित्सकको हटलाइन नम्वर दिने गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलन नदिन र संक्रमण भए होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सावधानीका बारेमा पनि जानकारी दिने गरिएको छ ।
यसैगरि इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० वजेसम्म निःशूल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय बढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणको लागि पठाइने गरिएको उपमहानगरले जनाएको छ । अहिले परीक्षण गरेकै दिन रिर्पोट आउने गरेको स्वास्थ्य शाखाकी पुजा भटटराईले बताइन् । प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकारसँग उपमहानगरले अनुरोध गरेको छ । स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर संक्रमितहरुको स्वास्थ्य अवस्था वुझने र सल्लाह दिने पनि गर्दै आएको छ ।
इटहरीका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घरमा पुगेर स्वास्थ्य स्थिति पनि बुझ्ने गरेका छन् । यस्तै, इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरुसँग जुम छलफल कार्यक्रम समेत गरेको छ । इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ भने रंगशालामा अक्सिजनसहित ५० वेडको आइसोलेसन पनि सञ्चालन गरेको छ ।