धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गरि तोडफोडमा संलग्न भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त घटनामा १० जना संलग्न भएका थिए । ती मध्ये पक्राउ परेका मुख्य आरोपीहरु ५ जनाहरुलाई आज जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिकसमेत गरेको छ । 

पक्राउ पर्नेहरुमा घटना मुख्य आरोपीहरु धरान ४ का ३० बर्षीय बसन्त राई र धरान १५ का ३२ बर्षीय रेगन लिम्बुले हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेका थिए । दुवैलाई धनकुटाले आज धरान पठाएको थियो ।

ती बाहेक धरान ५ का २४ बर्षीय बिक्रम राई, धरान ३ का २७ बर्षीय सिजन राई र धरान ४ का २६ बर्षीय कालु भन्ने सरोज लिम्बु जेठ १८ गते नै पक्राउ परिसकेका थिए । उनीहरुलाई धरान ५ देउरालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मुख्य आरोपी रेगन र वसन्तलाई पक्राउ गर्न १ नम्बर प्रदेश प्रहरी ब्युरो र मोरङ, तेह्रथुम, धनकुटाको प्रहरीकोसमेत मद्दत लिएर खोजी गरिएको थियो । उनीहरु दुवै जना धनकुटाको छथर पोखरी ४ बञ्चरे एरियामा लुकेर बसेको सुचना पाएपछि धरानबाट प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा प्रहरी टोली सर्च गर्न पुगेको थियो । धनकुटा प्रहरीको समेत सहयोग लिएर प्रहरीले ४ दिनसम्म उनीहरुलाई खोजी गरेको थियो । 

प्रहरीले चारैतिरबाट सर्च गरिरहेको र उम्कन सक्ने अवस्था नभएपछि उनीहरुले हिजो जनप्रतिनिधि र आफन्तसहित जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसर्मपण गरेका थिए । उनीहरुविरुद्ध जिल्ला अदालत सुनसरीमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जेठ १३ गते साँझ प्रहरी चौकीमा ज्यान जोगाउन पुगेका २ युवालाई पछ्याउदै आएको १० जना युवाहरुको समुहले जथाभावी आक्रमण गर्दा चौकी इञ्चार्ज घाइते भएका थिए भने प्रहरी चौकीमा जथाभावी तोडफोडसमेत गरेर हतियारधारी युवाहरु फरार भएका थिए ।