धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने मध्येका दुई युवाले धनकुटामा प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । 

  हिजो साँझ स्थानीय जनप्रतिनिधि र आफन्तसहित विकास भन्ने रेगन लिम्बु र वसन्त राईले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तु जैसवालले जानकारी दिए । डिएसपी जैसवालका अनुसार चौकी आक्रमणको घटनामा संलग्नहरु धनकुटामा आएर लुकेको सुचना पाएपछि धरानबाटसमेत प्रहरी टोली आएर खोजी तीब्र पारिएको थियो । ‘धरानबाट पनि टोली आएको थियो । हामीले खोजी तीब्र पारेका थियौं,’डिएसपी जैसवालले भने,‘यही क्रममा आफन्त र जनप्रतिनिधिसहित हिजो बेलुका सम्पर्कमा आए ।’

धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा जेठ १३ गते साँझ युवाहरुको एक समुहले आक्रमण गरेका थिए । त्यसअघि दुई युवा ज्यान जोगाउन भन्दै प्रहरी चौकीमा छिरेका थिए । तिनै युवाहरुलाई पछ्याउदै हतियारसहित पुगेका समुहले चौकीभित्रै प्रहरीमाथि अन्धाधुन्दा आक्रमण गरेका थिए भने भाग्नुअघि तोडफोडसमेत गरेका थिए । उक्त घटनामा १० जना संलग्न रहेको प्रहरीको भनाई छ । ती मध्ये यसअघि ३ जना पक्राउ परिसकेका छन् भने अन्य ५ जना फरार सुचीमा छन् ।

प्रहरी स्रोतका अनुसार रेगन र वसन्त धनकुटा पुगेको थाह पाएपछि धरानबाट प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा ४ जना धनकुटा पुगेका थिए । उक्त टोलीले ४ दिनसम्म गाउँ र जंगलमा सर्च गरेको थियो । रेगन र वसन्त जंगलमा लुकेका थिए । ‘अलिकति मिस भयो, नत्र प्रहरीले जंगलबाटै पक्राउ गथ्र्यो,’स्रोतले भन्यो,‘चार दिनसम्म सर्च गर्दा जंगलमा खान नपाए पछि आत्मसर्मपण गर्या होला।’