धरानः बेलायतबाट एक दम्पत्तीले लाखौंको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
हाल बेलायतमा बसोबास गरिरहेका देउकुमारी राई र श्रीमान गंगा लिम्बुले धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको लागि पठाएका हुन् । धरान वडा नं १८ का वडाअध्यक्ष प्रविण राई(नरेन्द्र)को पहलमा यो सहयोग आएको हो ।
काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व विहार बुढानिलकण्ठबाट पनि बुनु लिम्बूले पनि सहयोग गरेकी हुन् । उनीहरुले पठाएको कुल २७ लाख ६५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आइपुगेको हो । स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, फेससिल्ड, केएन नाइन्टी फाइभ सिल्ड, पी प्याप सेट, सी प्याप सेटलगायत छन् ।
बेलायतबाट नेपाल आईपुगेको उक्त स्वास्थ्य सामग्री आज धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । वडाध्यक्ष राईले नगरप्रमुख तिलक राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । वडाध्यक्ष राईका अनुसार धरान उपमहानगरपालिका, धरान १८ को वडा कार्यालय, बराहक्षेत्र नगरपालिकाको चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका स्वास्थ्य सामग्री पठाइएको छ ।
धरानका प्रमुख राईले बराहक्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र चतराको लागि आएको स्वास्थ्य सामग्री सञ्चारकर्मी हिमाल राईलाई प्रदान गरेका थिए । यस्तै, ताप्लेजुङ पाथीभरा याङ्वरकको नाङखोलेङ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र ताप्लेजुङलाई अहेब मुकुन्द दाहालमार्फत् स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । धरान १८ र धरान उपमहानगरपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ । उक्त स्वास्थ्य सामग्री वरिष्ठ पत्रकार हर्ष सुब्बा, समाजसेवी विनोद राई, प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।