विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले संघीय सरकारले तत्कालै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन आग्रह गरेकी हुन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह रिन् । ‘केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस्,’उनले भनिन् । 

कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेकाले आवश्यक तयारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री राईले बताइन् । कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले प्रष्ट पारिन् । प्रदेशका दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनको भनाई थियो । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकोले परिपुर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जानुपर्नेमा जोडदिइन् । उनले प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराइन् । ‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं,’उनले भनिन् । 

मन्त्री राईले सवै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको बताइन् । एचडियू, आईसीयू, भेन्टिलेटर, आवश्यक जनशक्तिसहितको विकसित अस्पताल निर्माण हुने मन्त्री राईले बताइन् । विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरि विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको मन्त्री राईको भनाई थियो । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।