धरान: संक्रमण दर कम हुदै गएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बिहिबार)देखि निषेधाज्ञा खुकुलो पारेको छ । 

निषेधाज्ञाले सर्वसाधारणलाई कठिनाइ पारेको बिषयलाई पनि मध्यनजर गर्दै निषेधाज्ञा खुकुलो पारिएको प्रशासनको भनाई छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हिजो बुधबार आदेश जारी गर्दै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खाद्यान्न पसल खोल्न दिइने जानकारी दिएका थिए । यो समयमा डिपार्टमेन्ट स्टोरका ग्रोसरी समेत खोल्न मिल्नेछ । तर, पसलमा भिडभाड हुन नदिन सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा घर घरमा होम डेलिभरी पुर्याउन व्यवस्थाप मिलाउनुपर्ने पनि प्रशासनको भनाई छ । 

पसल खोल्दा स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्नुपर्नेछ । यस्तै, दुध डेरी तथा माछा मासु पसल पनि स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । यसैगरि, फलफुल तथा तरकारी संकलन तथा ढुवानी निर्वाधरुपमा गर्न पाइनेछ भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ठेला गाडासमेतमा राखेर घर घरमा बिक्री गर्न पाइनेछ । तर, सब्जी मण्डी, गुद्री, हाट बजारमा भने बिक्री वितरणमा रोक लगाउने निर्णय भएको छ । यसैगरि, पुस्तक तथा स्टेशनरी पसलहरु स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । प्रशासनले यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको थियो । 

lock1