धरानः गत फागुन ११ गतेभन्दा अघि कोरोना विरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई धरानमा असार १ गते दोस्रो मात्रा खोप लगाइने भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा खोप लगाउन छुटेकाहरुलाई असार १ गते खोप लगाउन आह्वान गरेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोश्रो मात्रा छुट भएकाहरुको लागि कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाउने जानकारी दिए । 

उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाईने भएको छ । मेहताले धरान उपमहानगरपालिका अन्तर्गतको विभिन्न खोप केन्द्रहरुबाट गत माघ १४ गतेदेखि फागुन ११ गतेसम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाइएको जानकारी दिए ।

यस्तै, गत वैशाख ७ गतेदेखि जेठ ११ गतेसम्मा कोभिसिल्डको दोश्रो मात्रा खोप लगाइएको थियो । अधिकांश व्यक्तिलाई दोश्रो मात्राको खोप पुरा भए पनि सो अवधिमा सञ्चालित भएको खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरु छुटेका थिए । तिनै दोस्रो मात्रा खोप लगाउन छुटेकाहरुलाई लक्षित गरेर असार १ गते कोभिसिल्ड खोप लगाउन लागिएको मेहताले जानकारी दिए ।

उपमहानगरपालिकाले गत फागुन २३ गते पछि कोभिसिल्डको पहिलो मात्रा लगाई दाश्रो मात्रा पर्खिरहेका व्यक्तिहरुका लागि नेपाल सरकारबाट खोप छिट्टै उपलब्ध गराउने तयारी गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । उपमहानगरपालिकामा खोप प्राप्त भएपछि धरानबासीलाई सुचना प्रचार गरि जानकारी गराउने पनि स्वास्थ्य महाशाखाले जनाएको छ ।