विराटनगर: प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ती ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।
यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सवैको सहयोग आवश्यक रहेको बताइन् ।
सवै पक्षको सहयोगमा कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्री राईको भनाई थियो । उनले सहयोगी संस्थाहरुलाई आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरिन् । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।