धरान :सुनसरीमा एक साताको लागि निषेधाज्ञा थपिएको छ । 

असार १ गतेदेखि ७ गतेसम्मको लागि निषेधाज्ञाको समय बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालका अनुसार खाद्यान्न, दुध, डेरी, पुस्तक पसल, माछा मासु तथा फलफुल, तरकारीको पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइनेछ । यसअघि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएकोमा त्यो व्यवहारिक नभएको भन्ने सुरक्षा निकायबाट रिपोटिङ भएपछि समय परिवर्तन गरिएको प्रजिअ ढकालले बताए । यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएकोमा समय सकिन लागेपछि थप एक सातालाई बढाइएको हो । 

उनका अनुसार निषेधाज्ञा ७ गतेसम्म बढाइएको र खाद्यान्न, दुधलगायतका पसल खोल्ने समय परिवर्तन गरेबाहेक विगतका अन्य कुनै पनि निर्णयहरु परिवर्तन भएको छैन । ‘खाद्यान्न, दुध, डेरीलगायत पसलहरु दिउँसो खोल्दा व्यवहारिक भएन भन्ने प्रहरीबाट आएपछि समय फेरिएको छ, बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न दिइएको छ, त्यसपछि फेरि सबै बन्द हुन्छ,’प्रजिअ ढकालले भने । 

कुनै पसल बिहान, कुनै पसल दिउँसो र साँझ खोल्दा धेरे चहल पहल हुने र अन्योल पनि भएको हुनाले एकै समयमा सबैलाई खोल्न दिने निर्णय गरिएको सहायक प्रजिअ महेश पोखरेलले जानकारी दिए । उनका अनुसार निर्माण कार्यको लागि लागि ट्रक, ट्याक्टरहरुलाई निर्वाधरुपमा हिड्न दिने निर्णय भएको छ भने किसानको तरकारी बारीमा कुहिएर नष्ट हुन नदिन तरकारी संकलन र ढुवानीलाई पनि छुट दिइएको छ ।