धरान: श्रम तथा रोजगार कार्यालय विराटनगरले धरान १५ स्थित के.के. इन्टरनेशनल विद्यालयलाई निष्काशन गरेको ३ जना शिक्षकलाई हाजिर गराएर काममा फर्काउन निर्देशन दिएको छ । 

कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले उक्त विद्यालयलाई पत्राचार गर्दै निष्काशन गरिएको भनिएका ३ जना शिक्षकहरुलाई पुर्ववतरुपमा हाजिर गराएर काममा फर्काउन निर्देशन दिएको हो । उक्त विद्यालयले शिक्षकहरु निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज बराललाई विना कारण निष्काशन गरेको थियो । निष्काशनमा परेका शिक्षकहरुले निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु)मा निवेदन दिएका थिए भने प्याब्सु सुनसरीले हिजो आइतबार विद्यालयमा हाजिर गराएर पुर्ववतरुपमा काममा फर्काइदिन माग गर्दै लिखित निवेदन दिएको थियो । 

श्रम कार्यालयले हाजिर हुन नदिएको मितिदेखि नै शिक्षकहरुलाई हाजिर गराएर ७ दिन भित्र लिखितरुपमा कार्यालयलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । अन्यथा विद्यालयको बैक खाता रोक्का, चलअचल सम्पत्ति रोक्का, इजाजतपत्र निलम्बनलगायतको कारबाही हुने पनि श्रम कार्यालयले चेतावनी दिएको छ । उक्त निर्देशनको बोधार्थ श्रम कार्यालयले शिक्षा मन्त्रालयसहित विभिन्न सरकारी कार्यालयमा पठाएको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, धरान उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालय धरान, १५ नम्बर वडा कार्यालय धरानलगायतमा आवश्यक सहयोगको लागि अनुरोधसहित पत्र पठाएका छन् । 

sram