धरान: गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आईसोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएको छ ।
धरान १९ स्थित हरियाली वन समुहमा रहेको आईशोलेसन सेन्टरको लागि भेन्टिलेटर हस्तान्तरण गरिएको हो । मंगलबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरि राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले मेयर तिलक राईलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका थिए । हरियालीको उक्त आवास गृहमा उपमहानगरपालिकाले २५ शैयाको आईशोलेसन सेन्टर सञ्चालन गरेको छ । उक्त सेन्टरमा पत्रकार महासंघ सुनसरीको समेत समन्वय रहेको छ ।
मेयर राईले कोरोनासँग लड्नसहयोगको भावना जरुरी रहेको बताउँदै गत वर्षको तुलनामा यसवर्ष मानिसहरुमा डर, त्रास कम भएको बताए । उनले हरियालीमा गत बर्ष नै आइसोलेसन सेन्टर बनाएको जानकारी दिए । धरानको आईशोलेसन सेन्टरलाई गोर्खा सेमेट्री ट्रस्ट हङकङले महत्वपूर्ण सामग्री सहयोग गरेको भन्दै मेयर राईले धन्यवाद पनि दिए । उनले वीपी प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पताल बाहिर विरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिएको बताउँदै हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिए ।
वीपी प्रतिष्ठानसँग उपमहानगरपालिले सहकार्य गरेको बताउँदै मेयर राईले भविष्यमा आईशोलेसन सेन्टरमा भेन्टिलेटरको आवश्यक नपरे वीपीको कोभिड अस्पतालमा आवश्यक परे हस्तान्तरण गर्न सक्ने पनि बताए । गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर देशभरका विभिन्न अस्पताल तथा आईशोलेसन सेन्टरहरुमा पोर्टेवल भेन्टिलेटर वितरण गरिएको जानकारी दिए । नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको सुनाउँदै उनले आवश्यक परेका अस्पताल तथा आईशोलेसन सेन्टरहरुमा गोर्खा सेमेट्री ट्रष्ट नेपालले आफै वितरण गर्न थालेको बताए ।
सोही अभियान अन्तर्गत धरानको आईशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको भन्दै मेयर राईलाई धन्यवाद दिए । साथै, गोर्खा सेमेट्री ट्रस्ट हङकङलाई पनि उनले भेन्टिलेटर सहयोग गरेकोमा प्रशंसा गरे । कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्बु, वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र), वडा नं. २ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता लगायतको उपस्थिति रहेको थियो ।