धरान: वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको कोभिड अस्पतालमा उपचाररत विरामीहरुका आफन्तहरुको लागि शौचालय सुविधासहित कुरुवा घर निर्माण गरिएको छ । 

धरान उपमहानगरपालिका र प्रतिष्ठानको आग्रहमा मारवाडी सेवा समिति धरानले कुरुवा घर निर्माण गरिदिएको हो । औपचारिकरुपमा उद्घाटन नभए पनि विरामीका आफन्तहरुले प्रयोग गर्न भने थालिसकेका छन् । संक्रमितका आफन्तजनहरु कोभिड अस्पताल बाहिर चौरमा पाल टाँगेर विजोग अवस्थामा बस्नु परेपछि गुनासो अत्यधिक बढेको थियो । दिसा पिसाब गर्ने उपयुक्त ठाउँ पनि नभएको र घाम चर्किदा, पानी पर्दा धेरै समस्या भएपछि उपमहानगरपालिका, अस्पताल प्रशासनले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभा धरानलाई कुरुवा घर निर्माण गर्न आग्रह गरेको थियो । 

सोही आग्रह वमोजिम कुरुवा घर निर्माण सम्पन्न भएर सुचारु पनि भइसकेको मारवाडी सेवा समिति धरानका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए । उनका अनुसार कुरुवा घर ८० फिट लम्बाई र १८ फिट चौडाई भएको हल छ । साथै, २ वटा ट्वाइलेट, एउटा पिसाब मात्र फेर्ने शौचालय र २ वटा नुहाउने धाराको पनि व्यवस्थापन गरिएको छ । हात धुने ठाउँ पनि अलग्गै बनाइएको अग्रवालले जानकारी दिए । ‘नगरपालिका, वीपी प्रतिष्ठानले नै आग्रह गरेपछि स्थलगत हेर्यौं, कुरुवाहरुलाई एकदमै समस्या थियो,’सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका अग्रवालले भने,‘अहिले कुरुवा घर बनेर सुचारु भइसक्यो, विरामीका कुरुवाहरुलाई एकदमै राहत मिलेको छ ।’

kuruwa1

कुरुवा घर निर्माण भएर सुचारु भएको एक साता बढी भइसकेको छ भने शौचालय, बाथरुम ३ दिनदेखि प्रयोग हुन थालेको हो । कुल १८ लाख हाराहारीमा कुरुवा घर, शौचालय र बाथरुम निर्माण सम्पन्न भएको अग्रवालले जानकारी दिए । ‘वीपी धरानको मुटु नै हो । यहाँ आएका विरामीका कुरुवाहरुलाई सुविधा थिएन । वीपी र धरान उपमहागनरले सहयोग चाहियो, बनाइदिनुस् भनेपछि हामीले निर्माण गरिदिएका हौ,’अग्रवालले भने,‘कोभिड सकिएपछि लथालिङ्ग नबनाइदियोस, यसको संरक्षण गर्ने काम वीपीले गरोस् । भोली पनि थप केही गर्नुपर्ने भयो भने हामीलाई भन्नुपर्यो, हामी थप बनाइदिन्छौं ।’

धरानदेखि बाहिरका कोभिड विरामीका कुरुवाहरुलाई बस्नकोलागि ज्यादै समस्या भइरहेको थियो । गत बर्षदेखि सञ्चालनमा आएको कोभिड अस्पतालमा संक्रमणको जोखिमको कारण विरामीहरुसँग आफन्तहरुलाई बस्न दिइदैन । त्यसैले संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर नै बस्ने गरेका छन् । उनीहरुको लागि बस्न कुनै संरचना नहुँदा खुला आकाश मुनि थिए भने पछि पाल टाँगेर बसेका थिए ।