धनकुटा: सहिदभूमि गाउँपालिकाका जनप्रतिनिधिहरु कोरोना संक्रमितको घरमै पुगेर स्वास्थ्य सामाग्री र पोषिलो खानेकुरा वितरण गरिरहेका छन् ।
संक्रमित भई होम आइसोलेसनमा बसिरहेका विरामीको आत्मवल बढाउन घर–घरमै पुगिरहेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । आइसोलेसनमा रहेका संक्रमितहरुलाई ज्वरो, निमोनिया, झाडापखाला र भिटामिन वितरण गरिरहेका पनि अध्यक्ष राईको भनाई छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । सबैलाई सजग हुन आग्रह गर्दै अध्यक्ष राईले रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वास्थ्य परामर्श पनि दिइरहको बताए ।
सहिदभुमि गाउँपालिकामा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएको र हालसम्म २ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३१ जना सक्रिय कोराना संक्रमितहरु रहेका छन् । गाउँपालिकामा अहिले सम्म वडा नं. ६ मा १ जना, वडा नं.४ मा १ जना र वडा नं. ५ मा २ जना गरि जम्मा ४ जना संक्रमितको मृत्यु भइसकेको सहिदभूमिका स्वास्थ्य शाखा प्रमुख फकिर मुहम्मद मुस्ताफले जानकारी दिए ।
हाल होम आइसोलेसनमा सामान्य लक्षण देखिएका संक्रमितहरु छन् । श्वासप्रश्वासमा समस्या देखिएका विरामीलाई गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखेर उपचार गरिदै आइरहेको छ । जटिल तथा गम्भिर अवस्थाको बिरामीहरुलाई जिल्ला अस्पताल धनकुटामा रेफर गरिने स्वास्थ्य प्रमुख मुस्ताफले बताए । एन्टिजेन बिधिबाट कोराना परिक्षण कार्यलाई पनि गाउँपालिकाले तीव्र बनाएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी र वडाका जनप्रतिनिधिहरु समेत संक्रमितहरुको घर–घरमा पुग्ने गरेका छन् । उनीहरुले पारासिटामलो, एमोक्सलिन, जिङक चक्की, सेनिटाइजर, माक्स, साबुन र रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधीजन्य सामाग्रीहरु डावर च्यावनप्रास र आमल्की चुण, त्रिफला चुण, गुर्जोको धुलो लगायतको १०÷१२ प्रकारका औषधीजन्य सामाग्रीहरु वितरण गर्ने गरेका छन् । ब्याटेरिएल इनफेक्सन नहोस् र रोगसँग लड्ने क्षमता वृद्धि गर्नमा ती औषधीजन्य सामाग्रीहरुले लाभ हुने मुस्ताफले बताए ।
कोरोना संक्रमणवाट ज्यान गुमाएका परिवारलाई २० हजार
गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँ र संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ । मृतकको घरमै पुगेर आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष राईको भनाई छ ।
कोरोना संक्रमणबाट जोगाउन करिब ४ हजार घरलाई मास्क, स्यानिटाइजर र साबुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । हरेक घरलाई १५ वटा मास्क, एउटा स्यानिटाइजर र एकवटा साबुन दिएको अध्यक्ष राईले बताए । जनप्रतिनिधि र कर्मचारीले सबैघरमा पुगेर ती सामग्री वितरण गरिएको छ ।