धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले गठन गरेको ३ सदस्यीय वार्ता समितिले आन्दोलनरत पक्षलाई आज सोमबार बिहान वार्तामा आउन आग्रह गर्दै पत्राचार गर्यो । 

आन्दोलनको छैटौं दिन वार्ता समिति गठन गरेर वार्तामा बोलाए पनि संयुक्त संघर्ष समितिका चिकित्सक, विद्यार्थी र कर्मचारीका प्रतिनिधिहरु दिउँसो ३ बजे वार्तामा बसे । तर, वार्ता ठोस निष्कर्षमा पुगेन । आन्दोलनरत पक्षले व्यवस्थापनतर्फको वार्ता समितिलाई ४ वटा बुँदामा सर्तहरु राख्दै पुरा भएपछि मात्र वार्तामा बस्ने जानकारी गरायो । त्यसपछि वार्ताले मुर्तरुप लिन सकेन । वार्तामा प्रतिष्ठान व्यवस्थापनतर्फबाट वार्ता संयोजक एवं निमित्त उपकुलपतिसमेत रहेका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह थिए ।

वार्ता संयोजक डा.खनालले सौहार्दपुर्ण वार्ता भएपनि कतिपय बिषय उपकुलपतिसँगै सम्बन्धित भएकोले उनको उपस्थितिमा मात्र वार्ता गर्ने निष्कर्षमा टुंगिएको बताए । उनले भने,‘धेरै बिषयमा छलफल भयो । केही कुरा उपकुलपतिसँगै गर्नुपर्ने भएकोले निष्कर्षमा पुग्न सकिएन । अब उपकुलपति आएपछि मात्र वार्ता गर्ने गरि उठ्यौं ।’ 

यता, संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पि.रिमालले वार्ता समिति गठन हुँदा संवादहिनता तोडिए पनि औपचारिक वार्ताको लागि ४ वटा सर्त राखेको जानकारी दिए । ‘पहिलो सर्त व्यक्तिगत रिसइबी र दुःख दिने नियतले फ्याकल्टीलाई दिइएको स्पष्टीकरण पत्र फिर्ता लिनुपर्छ । दोस्रो कुरा, सार्वजनिकरुपमा उठेको प्राध्यापक उपाधिको बिषय भएकोले चारै जना पदाधिकारीहरुले आफु कहिले प्राध्यापक भएको हो, र कति सोधहरु प्रकाशित भएको छ भनेर वेभसाइटमा राखेर सार्वजनिक गर्नुपर्नेछ । यो पाँच मिनेटको मात्र काम हो,’डा.रिमालले भने,‘तेस्रो सर्त वार्तामा उपकुलपतिसहित चारै जना पदाधिकारी र कार्यकारिणी समितिसँगै मात्र छलफल हुन्छ भने मात्र औपचारिक वार्ता मान्छौं । र, वार्तामा आउदा हरेक मागहरुको स्पष्ट खाकासहित आउनुपर्छ ।’

bp-doc-andolan 1

संयुक्त संघर्ष समितिको आन्दोलन राष्ट्रियस्तरको भइसकेको भन्दै डा.रिमालले भ्रष्टचार र बेथिती अन्त्य एक मात्र लक्ष्य भएको बताए । वार्तालाई सार्थक बनाउन यी सर्तहरु पुरा हुनुपर्ने उनको भनाई छ । ‘यी ४ कुरा पुरा गर्न ५ देखि १० मिनेटमा सकिन्छ, यसले विश्वासको वातावरण पनि बन्छ, अनि हामी तत्काल वार्तामा बस्न सक्छौं ।’ उनले आफुहरुको पनि वार्ता समिति जुनसुकै समयमा तयार रहने बताए । वार्ताको लागि संयोजक डा.रिमाल, सहसंयोजक डा.विष्णु पोखरेल, जुनियर रेसिडेन्ट, विद्यार्थी र कर्मचारी तदर्थ समितिका एक एक जना प्रतिनिधि रहने पनि उनले प्रष्ट पारे ।

अब अल्टिमेटम र राजिनामा दिन्छौं: डा.रिमाल

संयुक्त संघर्ष समितिका संयोजक डा.रिमालले ६ दिनसम्मको आन्दोलनले पनि पदाधिकारीहरुलाई खासै असर नपरेको भन्दै अब अल्टिमेटम दिने बताए । त्यसपछि राजिनामा दिने पनि उनको भनाई छ । 

सोमबार बिहान आयोजित विरोध सभालाई सम्बोधन गर्दै संयोजक डा.रिमालले विरामी र विद्यार्थीलाई असर नपरोस् भनेर पढाउन र उपचार गर्न पनि नछोडि आन्दोलनमा आएको बताए । तर, उपकुलपति भने प्रतिष्ठानको चिन्ता नगरि काठमाण्डौं बसिरहेको भन्दै आक्रोश पोखे । 'हामी अल्टिमेटमसहित कार्यक्रम घोषणा गछौं, र त्यसपछि सार्वजनिकरुपमा चाडै राजिनामा दिन्छौं,' उनले भने,'कृपया नागरिक समाज, पत्रकार महोदयहरु हामीलाई नसोध्नु होला, तपाईहरु कर्तव्यबाट किन विमुख हुनुभयो भनेर । हामीले पटक पटक भन्दै आएका छौं, अझै भएन भने बाध्य हुनेछौं ।'