धरान: धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ ।

मंगलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देशिय कृषि समूहका किसानलाई २ थान मिनी ट्रिलर हस्तान्तरण गरेका हुन् । मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरै भन्दा धेरै लागत साझेदारीमा किसानहरुलाई विभिन्न योजनाहरु हस्तान्तरण गरिरहेको बताए । विष्णुपादुकामा एक हल गोरु पनि नअट्ने खेतहरुलाई चक्लाबन्दी गरेर, फाटिलो बनाएर मेशिनहरु चलाउन सक्ने गरि योजना अघि बढाइरहेको मेयर राईले बताए । 

मेयर राईले केन्द्र, प्रदेश र उपमहानगरपालिकाको अनुदानको मात्रै भरपर्न नहुने भन्दै किसानले आफै पनि लगानी गर्नुपर्ने बताए । उपमहानगरपालिकाले स्थानीय भड्डु धानलाई संरक्षण गर्नुपर्नेमा पनि मेयर राईले जोडदिए । उनले आफु खाने मात्र नभै बेच्ने गरि उत्पादन गर्न आग्रह गरे । मेशिनको सही सदुपयोग गरेर व्यवसायिक खेतितिर अगाडी बढ्नुपर्ने उनले बताए । 

कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले उपमहानगरपालिकामा संघीय सरकारको ससर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत किसानलाई खेत जोत्ने मेशिन उपलब्ध गराईएको जानकारी दिए । उनका अनुसार संघिय सरकारबाट ससर्त अनुदान भनेर २० लाख रुपैया बजेट आएको छ । राष्ट्रिय महत्वको बाली धान पकेट कार्यक्रम सञ्चालनका लागि उक्त बजेट आएको हो । 

दुई थान खेत जोत्ने मेशिन २ लाख रुपैयाँमा खरिद गरेर कोकाहा कृषि समूहलाई हस्तान्तरण गरेको उनले बताए । उक्त समूहमा १६ जना छन् । लाभान्बित घर परिवार संख्या ४० जना छन् । विष्णुपादुकाको २० हेक्टर जमिनमा भड्डु धान रोप्ने गरिएको उनले जानकारी दिए । कृषि समूहका अध्यक्ष मचिन्द्र राईले उपमहानगरपालिकाको कृषि शाखाले धान पकेटको लागि खेत जोत्ने मेशिन मिनि ट्रिलर दिएकोमा खुशी व्यक्त गरे । उनले किसानहरुलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले पहिचान गरेर हरेक क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।