धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङको संयुक्त संघर्ष समितिले चार जना पदाधिकारीहरुलाई माग पत्र पेश गरेका छन् भने प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने तयारी गरेका छन् ।

विगत १० दिनदेखि निरन्तर आन्दोलनरत संघर्ष समितिले आज (बिहिबार) प्रतिष्ठानका पदाधिकारीहरुलाई माग पत्र पेश गरेका हुन् । यस्तै, प्रतिष्ठानका कुलपतिसमत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र पठाइने जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले जानकारी दिए । ‘निमित्त उपकुलपतिसहित सबै पदाधिकारीहरुलाई माग पज्ञ बुझाएका छौ, विभागीय प्रमुखहरुलाई पनि जानकारीको लागि बुझाउदैछौं,’डा.नेपालीले भने,‘प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदैछौं ।’ उनका अनुसार प्रधानमन्त्रीलाई ईलाका प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र पठाइनेछ । 

यथासिघ्र वार्ताको लागि सकरात्मक र विश्वासको वातावरण बनाउन ४ बुँदाको सर्तहरु अघि सारेको संघर्ष समितिले विभिन्न एक दर्जन माग पेश गरेको छ । यथासिघ्र वार्ताको माध्यमबाट समाधान नखोजिए अन्य कडा आन्दोलन घोषणा गर्न बाध्य हुने पनि संघर्ष समितिले चेतावनी दिएको छ । ‘भोली शुक्रबारसम्म हेछौं, त्यसपछि हाम्रो आन्दोलनको मोडालिटी परिवर्तन हुदैछ, कडा खालको आन्दोलन गर्ने बिषयमा छलफल हुदैछ,’डा.नेपालीले भने । 

bp1 1bp2bp3bp4