धरान: एक सातादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले सडकको खाल्डा खुल्डी पुरेर सांकेतिक विरोध जनाएका छन् ।
प्रतिष्ठानको गेष्ट हाउस, सरस्वती मन्दिर अघिको सडकमा भएको खाल्डोहरु पुरेर उनीहरुले सांकेतिक विरोध जनाएका हुन् । त्यसअघि चिकित्सकहरुले उपकुलपति कार्यालयबाट र्याली निकालेका थिए । र्याली गेष्ट हाउस अघि पुगेपछि चिकित्सकहरुले त्यहाँको खाल्डाखुल्डीहरु पुरेका हुन् । उनीहरुले बालुवा, गिट्टी, सिमेन्ट प्रयोग गरेर खाल्डाहरु पुरेका हुन् ।
आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले सडकको खाल्डाखुल्डीहरु पुरे जस्तरी नै वीपीको प्रशासनिक, आर्थिक छिद्राहरु पनि पुर्नुपर्छ भन्ने सन्देशसहितको सांकेतिक विरोध गरिएको बताए । ‘यो खाल्डाखुल्डीहरु पुर्नुस् भनेपनि ध्यान दिएको थिएन, त्यसैले हामीले आन्दोलनको क्रममा नै पुर्यौं,’डा।नेपालीले भने,‘यो खाल्डाखुल्डी जस्तरी नै वीपीको प्रशासनिक, आर्थिक छिद्रहरु छन्, चुहावटहरु छन्,त्यसलाई पनि पुर्नुपर्छ भन्न खोजेको हो ।’ खाल्डा खुल्डी पुरिसके पछि कोणसभा भएको थियो । सभालाई सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा.सुर्यप्रसाद(एस.पी.)रिमालले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।