धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।

ईलाका प्रशासन कार्यालय धरानमार्फत आज(बिहिबार) दिउँसो संघर्ष समितिले कुलपति एवं प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र सँगै संघर्ष समितिले आफ्ना विभिन्न मागहरु पनि पेश गरेको जनाएको छ । यसअघि बिहान संघर्ष समितिले प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई माग पत्र बुझाएको थियो ।

कुलपति एवं प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेको ज्ञापन पत्र वीपी प्रतिष्ठान संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले ईलाका प्रशासन कार्यालय धरानका प्रमुखलाई बुझाएका थिए । ज्ञापन पत्रमा प्रतिष्ठान हाल आर्थिक र प्रशासनिकरुपमा जर्जर अवस्थामा पुगेको उल्लेख छ । अहिले देखिएको समस्या तत्काल समाधानको लागि पहल नभए प्रतिष्ठान धरासायी हुने उल्लेख छ । 

प्रधानमन्त्री प्रतिष्ठानको कुलपति पनि भएको नाताले समस्याहरु हल गर्न निर्णायक पहलकदमी लिन आग्रह गर्दै संघर्ष समितिले पहिलो एवं प्रमुख समस्या भनेको शिक्षा र स्वास्थ्यमा भएको चरम राजनीतिकरणलाई औल्याएको छ । साथै, प्रतिष्ठानमा हुने पदाधिकारी नियुक्तीमा राम्रो भन्दा हाम्रो भन्ने परिपाटी र ठुलो आर्थिक लेनदेन भएको पनि औल्याइएको छ ।

bp-pm1