धरान: धरानका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा वडा नं १३ र वडा नं ५ का दुई जना संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार वडा नं १३ की ४३ बर्षीया महिलाको कोभिड १९ अस्पतालमा हिजो दिउँसो  २ बजेर १५ मिनेटमा मृत्यु भएको हो । 

उच्च रक्तचाप र मधुमेहकी पनि दीर्घरोगी रहेकी संक्रमित महिलालाई हिजो असार १० गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । 

यसैगरि, धरान ५ का ७९ बर्षीय वृद्धको पनि उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । सहप्रवक्ता डा.पोखरेलका अनुसार मुटुका दीर्घरोगी रहेका ती वृद्धको बिहान ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनलाई पनि हिजो नै संक्रमण पुष्टि भएर कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानको भनाई छ ।