धरान: मनसुन शुरु भएपछि घुमफिरको पुर्वनिर्धारित योजना पनि मौषममा भर पर्छ । झण्डै २ साताअघि नै पत्रकार मित्र रणध्वज लोहारले मोरङ जिल्लाको पहाडी भेग केराबारी गाउँपालिकामा पर्ने याङ्शिला, चिउरी भञ्ज्याङ जाने योजना सुनाउदा उत्साहित थियौं । तर, भोली भोली भन्दा भन्दै २ साता बित्यो ।
भोली चै पक्का जाने है, भनेर अघिल्लो दिन सल्लाह गरेपनि भोलीपल्ट पानी पर्न थाल्ने । अनि, हाम्रो योजना भोलीलाई सर्ने । यसरी नै थुप्रै पटक याङ्शिला जाने योजना सरेको सर्यै भयो । म किन पनि उत्साहित थिएँ भने धेरै समय पछि घुम्न निस्कदै थिएँ । कोरोनाको कारण विगत एक बर्ष यता कतै टाढा घुमफिरमा गएको छैन । अर्को कारण चै चिउरी भञ्ज्याङ् हुदै तोपथुम्की डाँडामा पुगेर धरानलाई नियालेको पनि निक्कै बर्ष बित्यो । पहिलो पटक भेडेटार, नाम्जे, ओख्रे हुदै चिउरी भञ्ज्याङ्बाट पानबारी-धरानको एड्भेञ्चर साइक्लिङ यात्रा गरेका थियौं । यो करिब एक दशक अघिको कुरा हो ।
दोस्रो पटक दोर्पध्वज राई दाजुको संयोजनमा धरानकै पत्रकार साथीहरुसँग चिउरी भञ्ज्यङ् हुँदै तोपथुम्की डाँडासम्म पुगेको थिएँ । याङ्शिलाको प्रगति चोकसम्म मोटरसाइकलमा गयौं, त्यहाँबाट पदयात्री बनेर चिउरी भञ्ज्याङ पुगेका थियौं । जसकुमार राई दाजु (जो अहिले सपरिवार अमेरिका हुनुहुन्छ), उहाँले करिब ६ बर्षअघि धराने पत्रकारहरुको हाइकर्स टिम बनाएर ग्रामिण क्षेत्रमा घुमफिर गर्न नेतृत्व गर्नुभएको थियो । हामीले धरान र आसपासको थुप्रै ग्रामिण भेगमा पुगेर पर्यटन प्रर्वद्धन, पर्यटन विकासको सम्भाव्यताबारे फिचर रिपोर्टिङ गरेका थियौं ।
यसपाली त याङ्शिला, चिउरी भञ्ज्याङ मोटरसाइकलमा जाने योजना थियो, तर मौषमले साथ नदिने पो हो कि भन्ने पिर थियो । तर, हिजो शुक्रबार (असार १२) गते मौका जुर्यो । म, सविता जी, सन्तोष काफ्ले र गीता आचार्य काफ्ले, रणध्वज, दिनेश गजमेर, केदार बस्नेत, सनम तामाङ थियौं । केराबारी, याङशिला सनमको गाउँ पनि हो । रणध्वज जीसँग उनको छिमेकी पानवारीबाट रमेश राई एक जना थपिए । याङशिला प्रगति चोकबाट अरु २ जना साथीहरु थपिए ।
मोटरसाइकल यात्रा निक्कै गाह्रो भयो । बाटोको ट्र्याक खोलेको धेरै बर्ष बिते पनि पक्की छैन । बेला बेला ढुंगाको कारण मोटरसाइकल भिरतिर पुग्ने । सविता जी अत्तालिएर ओर्लिहाल्ने । नरकटे पुगेपछि रोकियौं । नरकटेमा केही घर छन् । ठुलो फाटिलो ठाउँ (टार) छ, नरकटे । उहिले नरकटे टारमा ताल थियो रे । त्यो कसरी सुक्यो, र त्यो ठाउँको नाम किन नरकटे रह्यो भनेर थाह पाउनै सकिएन । वरीपरी कोही पनि ज्येष्ठ नागरिक, जानकार मान्छे भेटिएन । सनम भाईले नरकटेको केही ऐतिहासिक कुरा भने सुनाए ।
त्यहाँबाट चिउरी भञ्ज्याङ देखिन्थ्यो । अब बढीमा १० मिनेट मोटरसाइकल यात्रामा पुगिन्छ । तर, बाटो खराब भएकोले समय लाग्यो । बीचमा ओर्लिएर फोटो खिच्ने, चिसो हावाको स्पर्शसँग रमाउने गरेपछि ढिला हुने त भैहाल्यो । सेल्फी खिच्ने र टिकटक भिडियो बनाउने क्रम यात्रा भरि जारी रह्यो । भञ्ज्याङ पुगेपछि थकाई मार्यौं । भोक पनि लागेको थियो । एउटा घरमा खाजा पसल रहेछ, चटपटे बनाउन लगायौं । त्यही पानीपुरी पनि बन्यो, त्यो पनि खायौ । लोकल भालेको सुप खाने भनेर खोजी गरेको, भाले नै भेटिएन ।
बरु केराबारी गाउँपालिका वडा नं ४ का सचिव फुलप्रसाद(रमेश) कट्टेल भञ्ज्याङमै भेटिए । सचिव कट्टेलले वडाका बासिन्दाहरुको तरकारी खेती र पशुपालन मुख्य आम्दानीको स्रोत भएको जानकारी दिए । चिउरीको रुखहरु धेरै भएकोले भञ्ज्याङको नाम चिउरी भञ्ज्याङ भएको रहेछ । यहाँको मौषम भेडेटार, नाम्जेकै जस्तो छ । एकछिनमा घाम लाग्ने, छिनमै बादल लाग्ने । तराईबाट ४ किलोमिटरमा पुगिने ठाउँ हो भञ्ज्याङ । तोपथुम्का, सप्तकन्या गुफा, सिद्धथुम डाँडा र तामा झरना पर्यटकीयस्थलहरु रहेको पनि सचिव कट्टेलले जानकारी दिए । सडक राम्रो बन्ने हो भने भविष्यमा प्रचुर पर्यटन विकासको सम्भावना बोकेको ठाउँ हो, चिउरी भञ्ज्याङ ।
सचिव कट्टेलसँग गफिए पश्चिात हामी लाग्यौ, याङ्शिला गाउँतर्फ । चिउरी भञ्ज्याङबाट उत्तरतर्फको यो गाउँ पहिला पुगेकै थिइन । यही याङ्शिला गाउँको नाममा पहिला गाउँविकास समिति थियो । हामी पानवरी पुर्वउत्तरको सबै क्षेत्रलाई याङ्शिला भनेर बुझ्थ्यौं । वास्तविक याङ्शिला गाउँ पहिलो पटक पुग्दै थियौं । हाम्रो गन्तव्य थियो, याङ्शिला गाउँ । चिसो मौषम । ठ्याक्कै नाम्जे, भेडेटारकै जस्तो । कुहिरोले छिनमा छोप्ने, छिनमा उघ्रने । धरानको हपहपी गर्मी भुल्यौ । ब्यस्त दैनिकी, कोलाहाल, तनावबाट मुक्त । त्यही बसिरहुँ लाग्ने ।
शान्ति आधारभुत विद्यालयमा ४१ बर्षसम्म प्रअ भएर सेवा गरेका भिमप्रसाद रानासँग भेट भयो । उनले याङ्शिला नाम कसरी रहन गयो भनेर रोचक कुरा सुनाए । ‘राईहरुले याङ्शि ला भनेर चिलाउनेको रुखलाई भनेको रे, यहाँ प्रशस्तै चिलाउनेको रुख भएकोले राई भाषाबाट याङ्शिला नाम भएको रे,’उनले भने । विद्यालय भए पनि विद्यार्थी थोरै भएको उनले सुनाए । खडेरीमा खानेपानीको चर्को समस्या भएको, बाटो समस्याले ठुलो गाडी नआएको उनले बताए । ‘उच्च ठाउँ छ, प्रायःजसो धरान, मधेश तिर डाँडाबाट देखिन्छ । जगरे डाँडा, दुम्से ढुंगा डाँडातिर पर्यंटकीयस्थल बनाउने, तोपथुम्की डाँडालाई पनि वडाले ध्यान दिएको सुनेको छुँ, प्रशस्तै सम्भावना छ । मौषम पनि राम्रो छ,’उनले भने ।
एक जना ७५ बर्षीय वृद्धासँग पनि कुरा गर्यौं । याङ्शिलामा बसेको ६ पुस्ता पुगेको वृद्धाले सुनाइन् । हाम्रो गन्तव्य याङ्शिलाबाट अब धरान फर्कनु थियो । गएकै बाटो ओरालो फर्कन निक्कै गाह्रो थियो । धनकुटाको ओख्रे निस्केर नाम्जे, भेडेटार हुँदै धरान फर्कने सल्लाह गर्यौं । त्यो बाटो छोटो पनि हुन्थ्यो । पहिराले बाटो खराब छ भन्ने पनि सुन्यौं, तर मोटरसाइकल पार हुन्छ भनेर स्थानीयले जानकारी दिए । दुम्से ढुंगामा फोटो सेसन चल्यो । त्यहाँबाट ओख्रे निस्कनु अघि पहिरो झरेर बाटो रोकिएको ठाउँमा पुग्यौं । निकै डरलाग्दो पहिरो खसेको रहेछ । भिरतिर हेर्दा ज्यानमारा पहिरोले रिंगटा नै चलाउने । मोटरसाइकल पार गर्न कम्ता हम्मे परेन । दिनेश जी भने भिडियो खिचिरहने ।
जसो तसो पहिरो पार गर्यौं । त्यसपछि ओख्रे निस्कियौं । मोटरसाइकल यात्रा जोखिमपुर्ण साहसिक यात्रा भयो । प्रकृतिसँग रमाउदै हिड्नु आनन्द भयो । ओख्रे पुगेपछि पानी पर्यो, बन्द रहेको एक होटलमा ओत लाग्यौं । पानी रोकिए पछि नाम्जेतर्फ हिडेको फेरि सिमसिम पानी शुरु भयो । भिजेको हुनाले जाडो पनि भयो । नाम्जे थुम्कीमा जितेन्द्र रुम्दालीले खोलेको भेडेटार भिलेज रिसोर्टंमा पस्यौं । जितेन्द्र जी थिएनन्, भाउजुसँग भेट भयो । रणध्जव जीले अर्गानिक पिसहरु सुनाएर पेट मिचिमिचि हसाए । खाजा बनाउन लगाएर धरान फर्कदा रात नै पर्यो ।
धरान, पानवारी, चिउरीभञ्ज्याङ, याङ्शिला, ओख्रे, नाम्जे, भेडेटार हुदँै एक चक्कर लगाएर फेरि धरान आइपुग्दाको रमाइलो अनुभूति शब्दमा वयान गरि साध्य नै भएन । यो रुटलाई धरान, केराबारी र साँगुरीगढी गाउँपालिका मिलेर ग्रामिण पर्यटन प्रर्वद्धनको लागि पर्यटकीय रिङ रोड(रुट)को अवधारणामा विकास गर्न सके राम्रो हुने थियो । चिउरी भञ्ज्याङ्मा होम स्टे बनाउने । त्यहाँसम्म पदयात्रा वा सवारीमा गएर एक रात बाँस बस्ने वा ओख्रे हुँदै नाम्जे, भेडेटार निस्केर धरान फर्कने । वा भोलीपल्ट गएकै रुटबाट नरकटे, पानवारी हुँदे धरान फर्कने । गज्जबको ग्रामिण पर्यटकीय रुट हुने थियो ।
भिडियो