धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी-किमाथांका सडकको मापदण्ड धरानमा नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव गरेकोप्रति असहमति जनाएको छ । 

मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बु र धरान अध्यक्ष सञ्जहाङ साँवासहितका नेताहरुले आइतबार धरानका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै एमाले र कांग्रेसको प्रस्तावमा असहमति जनाउदै मध्यमार्गी मापदण्डसमेत प्रस्ताव गरेको छ । मञ्चले मध्यमार्गी सडक मापदण्डकोरुपमा ७६ फिट कायम गर्न प्रस्ताव गरेको हो । एमालेले ८० फिट र कांग्रेसले ७२ फिट मापदण्ड प्रस्ताव गरेको भन्दै मञ्चले मध्यमार्गी अवधारणाकोरुपमा ७६ फिट उचित हुने जनाएको छ ।

मञ्चले २०७७ सालको नगर परिषद बैठक र सडक खण्डमा पर्ने सातै वडाका अध्यक्षहरु, वडा नागरिक मञ्च, सरोकारवाला निकाय तथा उपभोक्ताहरुबीच बैठक बसेर सहमति गरेको ८० फिट मापदण्डसमेत कार्यान्वयन गर्न अनुदार हुनु भनेको ८० फिट र ७२ फिटको खिचातानी र मनोमानी भएको ठहर मञ्चले गरेको छ । यो खिचातानीले समयमा नै सडक निर्माण कार्य सम्पन्न नहुने र विकास विरोधी दलहरुलाई जनताले माफी नदिने पनि ज्ञापन पत्रमा उल्लेख छ ।

limbuwan1