इटहरी: इटहरी उपमहागनरपालिकाले महिलाहरुलाई अनलाइन माध्यमबाट कौशी खेती तालिम दिएको छ । 

घरमै बसेर तालिम लिन पाउदा इटहरीका महिलाहरु उत्साहित भएका छन् । कौशी खेती गर्न चाहने महिलाहरुलाई इटहरी उपमहानगरले भर्चुअल विधिवाट तालिम दिएको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि जुम विधिबाट तामिल दिइएको कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् । कौशी खेती गर्न गठन गरिएको ७ वटा समूहबाट १ सय ३४ जना तालिममा सहभागी भएको पनि उनले बताइन् ।

इटहरी वडा नम्वर २०, ४ र ६ नम्वर वडामा आफनै घरमा कौशी खेती गर्न ७ वटा समूह बनाइएको छ । उनीहरुलाई कृषि शाखा प्रमुख अधिकारी र विमला राईले तालिम दिएका हुन् । इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले आफूले गरेको कौशी खेतीको अनुभव सुनाएकी थिइन् । उनले कौशी खेतीको महत्व र फाइदाका बारेमा पनि प्रकाश पारेकी थिइन् । जुम प्रविधिवाट भएको तालिमका सहभागिहरु उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले बताइन् । 

तालिममा सहभागी इटहरी ६ को उर्जाशिल कौशी कृषक समूहकी लक्ष्मी वरालले घरमै बसेर तालिममा सहभागी हुन पाँउदा समूहका १९ जना खुशी भएको बताइन् । घरको छतमा अर्गानिक सब्जि फलाएर उपभोग गर्न आफूहरु हतारिएको उनको भनाई थियो । इटहरी उपमहानगरले कौशी खेती गर्न गठन भएको महिला समूहलाई प्रतिसमूह २ लाखका दरले सहयोग उपलब्ध गराउने शाखा प्रमुख अधिकारीले जानकारी दिइन् । कौशी खेती गर्नका लागि आवश्यक समाग्री खरिद गर्न रकम उपलब्ध गराउने उपमहानगरको भनाई छ । थप एक लाखको कौशी खेतीका लागि विउ खरिद गरेर कृषि महिला समूहलाई दिइने अधिकारीले बताइन् ।