धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर वार्तास्थलमा गएको भन्ने आरोपबारे विभिन्न ९ राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको भोलीपल्ट बुधबार साँझ राजनीतिक दलका नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषी ठहरिएकालाई कडा कारबाही गर्न पनि नेपाल सरकारसँग माग गरेको छ । राजनीतिक दलहरुले यो घटनाले मुलुककै ठुलो शिक्षण अस्पतालको गरिमा धुलिसात बनाएको तथा धरानबासीकै अपमान भएको पनि विज्ञप्तीमा उल्लेख गर्दै प्रतिष्ठानको साख फिर्ता ल्याएर सुधार गर्न सरकारसँग माग गरेका छन् ।
यसैगरि, प्रतिष्ठानको विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता अन्त्य गरि सुधारको लागि धरान नागरिक दबाब सञ्जालले प्रस्तुत गरेको ११ बुँदे ध्यानाकर्षण पत्रको जायज मागहरु तत्काल पुरा गर्न पनि राजनीतिक दलहरुले माग गरेका छन् । पुरा नगरे ९ दलीय संयन्त्र कठोर आन्दोलनको घोषणा गरी विरोध गर्न बाध्य हुने पनि विज्ञप्तीमा उल्लेख छ ।